तपाईँ सुन्दै हुनुहुन्छः

भारोत्तोलनमा प्रहरीकी जुनमाया छन्त्यालको स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन खेलमा नेपाल प्रहरीकी खेलाडी जुनमाया छन्त्यालले स्वर्ण पदक जितेकी छन् । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आज भएको खेलमा महिला ७१ केजी तौल समूहमा जुनमायाले स्न्याचतर्फ ७८ किलोग्राम र क्लिन एण्ड जर्कमा ८९ किलोग्राम गरी कूल १६७ किलोग्राम तौल उठाएर स्वर्ण जितेकी हुन् ।

यसैगरी एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लिन एण्ड जर्कमा ६५ गरी कूल ११७ किलोग्राम भार उठाएर रजत पदक हात पारिन । नेपाल प्रहरीकी सरस्वती पुरीले स्न्याचमा ५० र क्लिन एण्ड जर्कमा ६५ गरी कूल ११५ किलोग्राम भार उठाउँदै कास्य पदक जितिन । 

महिला ६४ केजी तौल समूहमा नेपाल आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ८० गरी कूल १४७ किलोग्राम भार बहन गर्दै स्वर्ण पदक जितिन । नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लिन एण्ड जर्कमा ७१ गरी कुल १२८ किलोग्राम भार वहन गर्दै रजत जितिन् । 

नेपाल आर्मीकी प्रशंसा पुनले कास्य पदक जितिन् । उनले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६५ गरी कूल ११८ किलोग्राम भार वहन गरेकी हुन् ।

बुधवारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० विधामा खेल भइरहेको छ । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १७२  खेलाडीले भाग लिएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button