तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री कार्की 

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताउनु भएको छ ।  

प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग गर्न राजमार्ग र मुख्य सडक क्षेत्रमा सिसीटिभी जडान कार्य भइरहेको बताउनुभयो ।

मन्त्री कार्कीले प्रदेश सरकारले सुरक्षित प्रहरीबाट सुरक्षित समाज र नागरिकसमेत सुरक्षित हुने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयहरूको मर्मत गर्न सहयोग उपलब्ध गराएको बताउनुभएको छ । 

कार्यक्रममा प्रहरी दिवसको उपलक्ष्यमा अमर प्रहरी स्मारकमा माल्यार्पण, उत्कृष्ट प्रहरीलाई सम्मान गरिएको थियो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले स्वदेश तथा विदेशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीको ठूलो योगदान रहेको बताउनुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भयरहित वातावरणमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न प्रहरीको काँधमा आएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश प्रहरी कार्यालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक द्वय राजेश बाँस्तोला एवं जयराज सापकोटाले   शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न  निरन्तर कार्य गरिरहेको धारणा राख्नुभयो ।

सो अवसरमा रु एक लाख राशिको साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कारबाट प्रहरी नायब निरीक्षक भक्तबहादुर श्रेष्ठ र  हबल्दार भुवेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो । 

यसैगरी स्व. विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक पुरस्कारबाट प्रहरी हबल्दार तुलसीप्रसाद पोखरेललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button