कास्की दरबारमा दसैँ उत्सव सुरु
कास्की । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरिएको छ । गुप्तकालीका मन्दिरमा सधैँ झैँ यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ ।
तान्त्रिक र वैदिक तरीकाले पूजा हुने गुप्तकालीका मन्दिरमा घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गर्ने प्रचलन रहेको छ ।

वडा दसैँमा यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनुभयो ।
कास्कीकोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने भएको छ ।

यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्