तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनले लिएका सबै सिट जित्ने गरी तयारी गर्नुपर्छ : प्रवक्ता डा.महत 

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनमा धेरै सिट लिने होडमा लाग्नुभन्दा धेरै सिट जित्नेतर्फ लाग्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रवक्ता डा. महतले आज काठमाडौँमा पत्रकारहरूसँगको भेटघाटमा सत्ता गठबन्धनमा रहेका दलहरू सबैले सुरुमा धेरै सिट दाबी गर्नु स्वाभाविक भएपनि गठबन्धनले लिएका सबै सिट जित्ने गरी तयारी गर्नुपर्ने बताउनुभयो । 

डा.महतले यथार्थको धरातलमा उभिएर सिट बाँडफाँड हुन सके मात्रै गठबन्धन दलका सबै मत एक ठाउँमा खस्न सक्ने भएकाले त्यसतर्फ गठबन्धन दलहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रवक्ता डा महतले लोकतन्त्रलाई बलियो बनाउन नेपाली काँग्रेस मजबुत हुनु आवश्यक रहेको उल्लेख गर्दै अन्य दलहरूलाई लोकतान्त्रिक पद्धतिमा समाहित गर्ने कामको नेतृत्व काँग्रेसले गर्दै आएको र यसै क्रममा अहिलेको गठबन्धन बनेको बताउनुभयो ।  

प्रवक्ता डा.महतले आगामी निर्वाचनपछि पनि गठबन्धनको मुख्य नेतृत्व नेपाली काँग्रेसले नै लिने पनि उल्लेख गर्नुभयो । 

सञ्चारकर्मीको एक जिज्ञासामा नेपाली काँग्रेसका प्रवक्ता डा. महतले गठबन्धन बाहिर रहेका डा.बाबुराम भट्टराई, वामदेव गौतम तथा महन्त ठाकुर नेतृत्वको लोसपाका नेताहरूलाई सिट छाड्नेबारे अहिले छलफल चलिरहेको र आवश्यकताका आधारमा निर्णय हुने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button