तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत सम्बन्ध जनता–जनता बीच कायम : मन्त्री कार्की

सुनसरी । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल–भारतको सम्बन्ध सरकार-सरकारका बीचमा मात्र नभएर जनता-जनता बीचमा समेत रहेको बताउनुभयो ।

सुनसरी उद्योग वाणिज्य संघ, सुनसरीद्वारा आयोजित स्वागत तथा परिचय कार्यक्रममा मन्त्री कार्कीले नेपाल–भारत सम्बन्ध जनता–जनताबीचमा रहेको बताउनुभयो । साथै मन्त्री कार्कीले विश्वमा रहेका राष्ट्रहरूमध्ये भारत पनि एक समृद्ध राष्ट्र भएको र भारतबाट नेपालले पनि व्यापार व्यवसाय तथा अन्य कुराहरूमा धेरै फाइदा लिनुपर्ने बताउनुभयो । 

त्यस्तै नेपालका लागी भारतीय राजदूत श्रीवास्तवले नेपाल–भारत सम्बन्ध, व्यापार, बोर्डर समस्या र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा आफ्ना सरकारसँग राख्ने बताउनुभयो । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन समेत दिनुभयो । 

उहाँले नेपाल–भारतको सम्बन्ध सदियौँ देखी रहेकोले आर्थिक हिसाबले अझ राम्रो गर्दै जाने त्यसका लागी दुवै देशले भूमिका खेल्नुपर्ने बताउनु भयो ।

नेपालका सरकारका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई स्वागत तथा सम्मान गरिएको छ । 

सुनसरी उद्योग वाणिज्य संघ धरानले शनिबार स्वागत तथा परिचय कार्यक्रमको आयोजना गरी सञ्चारमन्त्री कार्की र श्रीवास्तवलाई सम्मान गरेको हो ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष विजय श्रेष्ठले धरान तथा देशको अर्थतन्त्रले भोगिरहेको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । 

उहाँले पहिला जोगनवी नाकाबाट आयात तथा निर्यात हुने बस्तुहरूको बारेमा अन्यौलता छाएकोले भारत सरकारले नेपाल सरकार तथा नेपाली व्यवसायीहरूले गर्न सक्ने सहयोगको बारेमा आफ्ना धारणा राखेका थिए । 

श्रेष्ठले सीमामा रहेको पुल निर्माण नहुँदाका कारण लामो दुरी गरी व्यापार व्यवसायका सामान ल्याउनुपर्दा उद्योगी व्यापारीहरूलाई समस्या हुने गरेको तर्फ जानकारी गराउनुका साथै भारतले गहुँ तथा चिनीमा हुने आयात र निर्यात किन बन्द गरिएको हो भन्नेबारे जिज्ञासा समेत श्रीवास्तव समक्ष राख्नु भएको थियो ।

कार्यक्रममा १.न. प्रदेश प्रमुख गोविन्द सुब्बा, जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,  भारतीय पेन्सन पेयिङ अफिस धरानका मेजर भरत खानुजिया लगायत विभिन्न पार्टीका नेताहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button