तपाईँ सुन्दै हुनुहुन्छः

दलहरूलाई जिम्मेवार बन्न प्रजिअ रिजालको आग्रह

सुर्खेत । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा संघीय निर्वाचनका लागि सुर्खेतका सरोकारवालाहरूसँग छलफल शुरु गरेको छ । निर्वाचन कार्यालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको छलफल कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आसन्न प्रदेशसभा तथा संघीय निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन दलहरू बढी जिम्मेवार हुनु पर्ने औँल्याउनु भयो । 

उहाँले दुई टुक शब्दमा भन्नुभयो, ‘मतदाताप्रति निर्वाचनमा भाग लिँदासम्म मात्र होइन, निर्वाचन अघि र पछि पनि उत्तिकै जिम्मेवार बन्नुहोस् ।’ उहाँको आश्रय मतदातालाई प्रयोग मात्र गरिनु हुँदैन भन्ने थियो । किनभने गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा असक्त, असहाय, अपाङ्गले मतदान पछि निर्वाचन आयोग, प्रशासन र दलहरूले समेत बेवास्ता गरेको व्यापक गुनासो आएको थियो ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले यही भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको बताउनुभयो । उहाँले कार्यतालिका अनुसार मतदाता नामावलीमा कसैले झूटा विवरण दिएर नामावलीमा नाम सिफारिस गरेको खण्डमा उजुरी दिन सक्ने मिति १३–१५ गतेसम्मका लागि तोकिए भने उजुरी परेको खण्डमा मतदातालाई प्रमाणसहित सफाइका लागि १३–१७ गते सम्मका लागि तोकिएको छ ।

मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट नाम हटाउनका लागि १३–१६ गतेको समयावधि तोकिएको छ । दुई वटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेत जिल्लामा निर्वाचन क्षेत्र नं.–१ मा १ लाख २३ हजार ७५ जना मतदाता सङ्ख्या रहेको छ भने क्षेत्र नं.–२ मा १ लाख २४ हजार ६ सय ६५ जना गरी कुल २ लाख ४७ हजार ७ सय ४० जना मतदाता रहेका छन् । त्यसमा १ लाख २० हजार ७१४ जना पुरुष रहेका छन् भने १ लाख २७ हजार २६ जना महिला मतदान छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button