तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीसँग विभिन्न देशका राजदूतहरूको सामूहिक भेट 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अस्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले  सामूहिक भेट गर्नुभएको छ । 

एमाले आज पार्टी कार्यालय, च्यासलमा अमेरिकी राजदूत र्याण्डि बेरी, बेलायतका राजदूत निकोला पोलिट, अस्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको र त्यसमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भूमिकाका विषयमा जिज्ञासा राख्नुभएको थियो । 

नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को प्रभावकारी र महत्त्वपूर्ण भूमिका रहोस् भन्ने उहाँहरूको भनाई थियो । 

सो अवसरमा अध्यक्ष केपी  ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले यस्ता महत्त्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट पेलपाल गरेर अगाडि बढाउनु न्यायोचित हुँदैन भन्ने मान्यता एमालेको रहेको स्पष्ट गर्नुभयो । 

भेटवार्तामा अध्यक्ष ओलीका साथमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा.अञ्जान शाक्य सहभागी हुनुहुन्थ्यो ।  

अध्यक्ष ओलीसँगै भेटवार्तामा रहनुभएका पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने लगायत विषय राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button