तपाईँ सुन्दै हुनुहुन्छः

बडिमालिका तीर्थयात्राले दुई प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन हुने 

जुम्ला । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पूजाआजाका लागि भक्तजन, पुजारीसहित जुम्लाको सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायव सुब्बा एकराज गिरीको नेतृत्वमा दर्जनौँ भक्तजनको टोली मङ्गलवार बडिमालिका प्रस्थान गरेको हो । 

बडिमालिका प्रस्थानसँगै जुम्लामा औपचारिक रुपमा धार्मिक मेला सुरु हुने, मष्टो देवताको पूजा गरिने, विभिन्न क्षेत्रमा तीर्थ जाने चलन छ । 

हरेक वर्ष साउन शुक्ल पूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार मङ्गलवार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृत विद् रमानन्द आर्चायले बताउनुभयो । 

उहाँका अनुसार नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,ब्यान्ड बाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको छ । 

संस्कृत विद् आर्चायका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ । 

बलिमालिका तीर्थयात्रा धार्मिक पर्यटन प्रवर्द्धनको आयाम हो । संस्कृत विद् आर्चाय भन्नुहुन्छ, “कर्णाली र सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनका लागि बडिमालिका तीर्थयात्राको विशेष महत्त्व छ । । डोटी बाजुराको टोली र जुम्लाको टोलीले बडिमालीमा संयुक्त पूजा गर्ने प्रचलन छ । जसले गर्दा धार्मिक सहिष्णुता समेत कायम हुन्छ ।”

बडिमालिका क्षेत्रमा विभिन्न फूलहरू, अचम्मका रुख बिरुवा, ढुँडा, पुराना गोठहरू, चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, लौरिविनायक जहाँ यात्राका बेलाको लट्ठी चढाउने गरिन्छ ।  

जोगी पहिरो, जोगीढुंगाबाट, बास धारा अर्थात् सहस्र धारा, बडिमालिका मन्दिर । धर्मद्धार, धवल पुरी दह र नाटेश्वरी मन्दिर समग्रमा बडिमालिकामा देखिने अलौकिक दृश्यहरू हुन् । 

समुद्री सतहदेखि बडिमालिका ४ हजार २ सय १६ मिटरको उचाइमा रहेको छ ।

बडिमालिका तीर्थयात्राले कर्णाली र सुदूरपश्चिमका तिर्थालु मात्र नभई मुलुक भरका हजारौँ आन्तरिक पर्यटकलाई समेत तानेको छ । यतिबेला बडिमालिका क्षेत्रमा हेलिकप्टर समेत रिजर्भ गरेर सयौँ पर्यटक जाने गर्दछन् ।  भने पैदल यात्राबाट पनि कर्णाली र सुदरुपश्चिमका हजारौँ भक्तजन बडिमालिका पुग्ने गर्दछन् ।

नाग पञ्चमी अर्थात् बडिमालिका तीर्थयात्रा शुभारम्भको दिनमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय भन्नुहुन्छ,“यस बिदाको पूर्ण उपभोग जुम्लामा मात्रै हुन्छ । परम्परा जोगाउन र ऐतिहासिक महत्त्व झल्काउन बडिमालिका तीर्थयात्राको बिदाइ र स्वागत जुम्लामा विशेष हुन्छ । यसले धार्मिक पर्यटन प्रवर्द्धन र इतिहासलाई जीवित राखेको छ ।”

बडिमालिका तीर्थयात्राले कर्णाली र सुदूरपश्चिमको धार्मिक पर्यटनलाई प्रवर्द्धनसँगै आर्थिक लाभ लिन सक्ने प्रशस्त सम्भावना छन् । तर पूर्वाधार निर्माण र लगानीको अभावले भने बडिमालिका क्षेत्र अझै ओजेलमा छ । 

दुवै प्रदेशले बडिमालिका क्षेत्रको पूर्वाधार निर्माण,बाटोमा सुरक्षा व्यवस्था, खान बस्नको प्रबन्ध, लगायतका व्यवस्था गरेको खण्डमा बडिमालिका तीर्थयात्रा धार्मिक पर्यटन प्रवर्द्धनको कोशे ढुङ्गा सावित हुने प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँ बताउनुहुन्छ ।  

“बडीमालिका जाने टोलीको सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको छ । गत वर्ष कोरोनाका कारण सीमित रुपमा टोली बडिमालिका गएको थियो । यस वर्ष नागरिकको उत्साह धेरै देखियो । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । जुम्लाको धार्मिक पर्यटन सम्भावनालाई संरक्षण र प्रवर्द्धनका लागि राज्यले लगानी बढाउनुपर्छ ।”, उहाँले भन्नुभयो ।

झण्डै दुई हप्तासम्म निरन्तर हुने बडिमालिका तीर्थयात्रालाई धार्मिक पर्यटन प्रवर्द्धनका रुपमा रूपान्तरण गर्न पर्यटक मैत्री पूर्वाधार निर्माणमा जोड, प्रचार प्रसार गर्नुपर्नेमा कर्णाली र सुदूरपश्चिम प्रदेशले ठोस नीति बनाउनु पर्नेमा प्रजिअ प्रसाईँको जोड छ ।

मङ्गलवार बडिमालिका गएको टोली आगामी भदौ १ गते अर्थात् १६ दिनपछि मात्रै जुम्ला फर्किने छ  । त्यस पश्चात् कर्णालीकै लामो तथा ठुलो कृष्ण जन्माष्टमी जात्रा जुम्लामा सञ्चालन हुने छ । 

विगत दुई वर्षमा कोरोनाका कारण जात्रा नलागेको जुम्लामा यस वर्ष भने लाग्ने भएको छ । जात्राले जुम्लाको अर्थतन्त्रलाई भने केही रुपमा चलायमान बनाउने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button