तपाईँ सुन्दै हुनुहुन्छः

महावाणिज्यदूतलाई जङ्गली हात्तीको समस्यासहितको ज्ञापनपत्र

भद्रपुर, झापा । दुई दिने अवलोकन भ्रमणका लागि झापा आउनुभएका कोलकातास्थित महावाणिज्य दूत ईश्वरराज पौडेललाई भारतबाट आउने जङ्गली हात्तीको समस्यासहितको ज्ञापनपत्र बुझाइएको छ ।

झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीको अवलोकन–भ्रमण गर्नुभएका महावाणिज्य दूत पौडेलाई मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले भारतबाट आउने जङ्गली हात्तीले दुःख दिइरहेको विषय, लागुऔषध कारोबार नियन्त्रणका लागि दुई पक्षीय चासो, नेपालमा उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरण आदि विषयमा भारत सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापन पत्रमा साबिक बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको समस्याका कारण धनजन र हात्ती स्वयम्लाई पुग्ने क्षतिको न्यूनीकरण गर्न भारतीय उच्च अधिकारीहरूसँग छलफल गरी समाधानको उपाय खोज्न पहल गरिदिन आग्रह गरिएको छ भने भारतसँग सीमा जोडिएको बाहुनडाँगीमा लागु औषधको ओसारपसार र कारोबार, चेलीबेटी बेचबिखन, खोला उत्खनन्, यस क्षेत्रबाट हुने असामाजिक अमानवीय र गैरकानूनी कारोबारलाई भारतीय प्रशासनले इमानदारपूर्वक निगरानी र कडा कारबाही गर्नसके नियन्त्रण तथा न्यूनीकरण गर्न सकिने उल्लेख छ ।

त्यस्तै यो क्षेत्र चिया, सुपारी, तेजपत्ता, मरिच, गाई पालनमा स्थापित भए पनि यसको बजार मुख्यरुपमा भारत नै भएकोले उचित मूल्यमा ती वस्तुहरू बिक्री–वितरणका लागि पहल गरिदिन महावाणिज्यदूत पौडेलसँग स्थानीयवासीले माग गरेका थिए ।

बाहुनडाँगीको सीमानाका मेची खोलाको पारिपट्टि ताराबारीसम्म स्थानीयलाई सहज आवतजावत गर्न झोलुङ्गे पुल निर्माणका लागि पहल गर्न महावाणिज्यदूत पौडेलसँग माग गरिएको वडाध्यक्ष कार्कीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button