कांग्रेस निकट जनप्रतिनिधि र पत्रकारहरूबिच अन्तरसंवाद
रुपन्देही । रुपन्देहीमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र सोही पार्टीमा आबद्ध पत्रकारहरूले अन्तरसंवाद गरेका छन् । कार्यक्रममा जनप्रतिनिधिहरूले स्थानीय तहबाट भएका गलत कुराहरूको ढाकछोप नगर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार आयोजना गरेको अन्तरसंवाद तथा बधाई कार्यक्रममा पालिका प्रमुख तथा उपप्रमुखहरूले अनियमितता तथा भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्दै कुनै कमीकमजोरी भए औँल्याइदिन पनि आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले आफूहरू पार्टीबाट निर्वाचित भएर आए पनि साझा जनप्रतिनिधि भएको बताउँदै जनचाहना र त्यहाँको आवश्यकता अनुसार काम गर्ने बताउनुभयो । उहाँले पालिकामा कानून विपरीतका कुनै काम नगर्ने बताउँदै कमीकमजोरी भएमा सत्य तथ्यमा आधारित भएर रचनात्मक आलोचना गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका उपसभापति तथा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफ्नो पालिकाले गरेका गलत भए आलोचना गर्न र राम्रा कामको पनि समाचार लेखेर प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस बुटवलका सभापति तथा बुटवलका उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र समस्यामा आफूले निरन्तर चासो दिएको बताउनुभयो । उहाँले संघीय सरकारबाट हुने सडक विस्तार, लक्ष्मी नगरको पहिरो नियन्त्रणका लागि झक्झकाउने काम गरेको भन्दै यसमा साथ दिन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
सैनामैना नगरपालिकाका मेयर फणीन्द्र शर्माले जनप्रतिनिधि भइसकेपछि आफूहरूका गलत कुराहरूको ढाकछोप नगर्न आग्रह गर्दै कमीकमजोरी औँल्याउँदा आफूलाई काम गर्न सहज हुने धारणा राख्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँले आफू सही नियतले काम गर्ने र बाधा अवरोध आए नझुक्ने दाबी गर्नुभयो । शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु बस्यालले आफ्ना पालिकाका लुकेर रहेका समस्याहरूको पनि पहिचान गरेर समाचार बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले सूचना सहज तरिकाले उपलब्ध गराउन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीको समस्यालाई ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, जिल्ला अध्यक्ष रामराज पोखरेल, प्रेस युनियनका सल्लाहकार माधव नेपाल, खिमानन्द भट्टराई, अग्रज पत्रकार विष्णु भुसाल, दामोदर खनाल, मिना ढकाल लगायतले पालिकाबाट गलत काम भएमा आलोचना गरेर कलम चलाउनु सञ्चारकर्मीको कर्तव्य भएको बताउनुभएको थियो । उहाँहरूले जनप्रतिनिधिलाई आम नागरिकको प्रिय हुने गरी राम्रो काम गरेर उदाहरण प्रस्तुत गर्न सुझाव दिनुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रम उपसभापति कवीन्द्र नेपालको सञ्चालन तथा कार्यक्रम संयोजक कमला पाण्डेको स्वागतमा भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्