विद्युत् पोल व्यवस्थापन नगर्दा दुर्घटनाको जोखिम
अछाम । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा ९ महिनादेखि विद्युत्को पोल सार्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ ।
सडक डिभिजन कार्यालय साँफेबगरले छिपेखोला बजार क्षेत्रमा सडकलाई चौडा बनाउँदा व्यवस्थापन गर्नुपर्ने विद्युत्को पोल व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको हो ।
विद्युत्को पोल तलबाट खोलाले जमिनको सतह बगाउँदा पोल नै खसेर सडकसहित बजार क्षेत्रमा रहेका पसलमा खस्ने सम्भावना बढेको छ । बजार क्षेत्र सडक बिस्तार गर्दा विद्युत्को पोल व्यवस्थापन गर्न लाग्ने रकम सडक डिभिजन कार्यालय साँफेबगरले गत भदौ महिनामा विद्युत् वितरण केन्द्र अछामको खातामा ४ लाख जम्मा गरे पनि हालसम्म समेत पोल व्यवस्थापन गर्न सकेको छैन ।
वर्षाको समयमा सो विद्युत्को पोल रहेको ठाउँमा पहिरोको झन् जोखिम बढेको पोललाई समयमै व्यवस्थापन गर्न नसेके गम्भीर घटना घट्न सक्ने स्थानीय उमेश कुँवरले बताउनुभयो ।
सडकलाई फराकिलो बनाउँदा व्यवस्थापन गर्ने अधिकांश पोलको व्यवस्थापन गरी सकिएको तर पहिरोको जोखिममा रहेको पोल व्यवस्थापन गर्न जग्गा धनीले जग्गा नदिएकाका कारण नसकिएको नेपाल विद्युत् वितरण केन्द्र अछामका प्रमुख जयानन्द बोगटीले बताउनुभयो ।
जिल्लाका अन्य स्थानका विद्युत् पोल पनि वर्षाको समयमा ढल्ने, अडेस दिइएका तार खुस्किने लगायतका समस्या देखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्