तपाईँ सुन्दै हुनुहुन्छः

कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहर भवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।

file photo

आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका–१० जिरीखिम्ती माझगाँउमा पशुहाट निर्माणमा संलग्नले ४७ लाख ३७ हजार भन्दा बढी रुपैयाँ बराबरको भ्रष्टाचार गरेकोले कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईँ, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बू, व्यवस्थापक तेजमान कन्दङ्वा, कोषाध्यक्ष गणेशबहादुर सोदेम्बा र परामर्शदाता कम्पनीका सञ्चालक रोशन भट्टराईविरुद्ध आरोपपत्र दायर गरेको हो ।

यस्तै, आयोगले सर्लाहीको साबिक सलेमपुरका विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा सात लाख ७१ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस सचिव ध्रुवनारायण झाविरुद्ध मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, आयोगले पर्साको साबिक भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शीर्षकमा प्राप्त भएको रु ११ लाख ९५ हजार बराबरको रकम हिनामिना गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कन्हैया साह कानु, र प्रधानाध्यापक रामवचन प्रसाद र समिति सदस्य रामचन्द्र साह कानुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button