मधेश प्रदेश सभाबाट दुई विधेयक पारित
जनकपुरधाम । मधेश प्रदेशको प्रदेश सभाको आज बसेको बैठकले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री एवं नेपालका परम हितैषी सिन्जो आबेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रदेश सभाको बैठकमा मधेश प्रदेशका सभामुख सरोज कुमार यादवले शोक प्रस्ताव पेश गर्नु भएपछि बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रदेशसभा बैठक बहिष्कार गरे पनि सत्ता घटक दलका सांसदहरूको मात्र उपस्थितिमा दुईवटा विधेयक पारित भएको छ ।
प्रदेशसभाको बैठकले विनियोजन विधेयक ०७९/८० र प्रदेशसभा सचिवालय कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो । दुवै विधेयक विपक्षी दलका कुनै सदस्य उपस्थित नभए पनि सभामुख सरोजकुमार यादवले सर्वसम्मतले पारित भएको घोषणा गर्नुभयो ।
त्यसअघि लोसपा तथा नेकपा एमालेका प्रदेश सभाका सदस्यहरुले राष्ट्रिय शोकको घडीमा बैठक गरेको भन्दै बैठक नै बहिष्कार गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक भोलि ९ बजे बस्ने गरी स्थगित भएको छ ।







प्रतिक्रिया राख्नुहोस्