तपाईँ सुन्दै हुनुहुन्छः

एउटै खोलामा परी छ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको एउटै खोलामा परी करिब एक वर्षभित्र छ जनाको मृत्यु भएको छ । सोताङ गाउँपालिका हुँदै बग्ने हुङ्गा खोलामा गएको भदौदेखि यो असारसम्म छ जनाले ज्यान गुमाएका छन् ।

सोताङ गाउँपालिकाको वडा नम्बर ४, ५, ३ र १ को सिमाना हुँदै बग्ने उक्त खोलामा परेर वर्षैपिच्छे मानिसहरूको ज्यान गइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गत वर्ष मात्रै खोलामा परी पाँच जनाको मृत्यु भएको र यस वर्ष एक जना बेपत्ता रहेको प्रहरीको तथ्याङ्क छ ।

२०७८ भदौ १ गते माप्यदूधकोशी गाउँपालिका ६ की ६२ बर्षीया कमिनी मगर, कात्तिक ४ गते महाकुलुङ गाउँपालिका २ का ५३ वर्षीय धनप्रसाद कुलुङ र फागुन १७ गते माप्यदुधकोशी गाउँपालिका ६ की ६८ वर्षीय त्रिमाया राईको खोलामा परी ज्यान गएको छ ।

त्यस्तै चैत्र ११ गते सोताङ गाउँपालिका ५ की ४९ बर्षीया राम्रीमाया तामाङ र नाम थर नखुलेका एक पुरुषको खोलामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही असार ९ गतेदेखि सोताङ गाउँपालिका ४ का ४९ वर्षीय आसबहादुर राई पनि खोलामा बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको छ । भिरालो र खोँचयुक्त खोला भएकाले बेपत्ताको खोजीमा समस्या हुने गरेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरू मध्ये कोहीले खोलामा हाम फाली आत्महत्या गरेका हुन् भने कतिपय चिप्लिएर खोलामा खसेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button