तपाईँ सुन्दै हुनुहुन्छः

‘जनहितमा काम गर्दा आउने कानुनी अड्चनलाई सामना गर्छु’

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जनहितमा काम गर्न खोज्दा आउने कानूनी अड्चनलाई सामना गरेर अगाडी बढ्ने बताउनुभएको छ ।

ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार विरुद्धको विश्व जनचेतना दिवसका अवसरमा आज वीरगन्जको लक्षणवा पार्कमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले वर्षौँदेखि जीर्ण रहेको घण्टाघरदेखि माई स्थान सम्मको सडक आफू आएसँगै आम नागरिकको सहजताका लागि मर्मत गर्न खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको खुलासा गर्नुभयो ।

उहाँले जीर्ण सडक निर्माण कार्य निजी स्वार्थ र सस्तो लोकप्रियताका लागि नभई वीरगन्जवासीको हितका लागि कालोपत्रे गर्ने काम अगाडी बढाएको अवस्थामा अख्तियारको पत्र आए पनि आफु विचलित नभएको बताउनुभयो ।

नगर प्रमुख सिंहले आफूले व्यक्तिगत स्वार्थका लागि कानुन तोडेर अघि बढ्न खोजेको नभई समाज र नगरवासीका लागि गरेको कामले जति पटक अख्तियार धाइराख्न परे पनि आफू धाउन तयार रहेको दाबी गर्नुभयो ।

ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, नेपाल भारत मैत्री संघका अध्यक्ष अशोक वैद्य, डा.रामअवतार खण्डेलवाल, नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी, श्याम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button