तपाईँ सुन्दै हुनुहुन्छः

‘देश र प्रदेशको समृद्धिका लागि तीन तहका सरकारबिच सहकार्य आवश्यक’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा देशको समृद्धि एवं विकासको लागि तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

मधेश प्रदेशको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले महोत्तरीको बर्दिबासमा आयोजना गरेको ‘स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहबिच समन्वय र सहकार्य भएको खण्डमा विकासले गति लिने बताउनुभयो ।

सहकार्य विना समृद्धि हासिल गर्न कठिन हुने बताउँदै मुख्यमन्त्री राउतले स्थानीय सरकारहरूले ल्याउने विकास निर्माणका योजनामा काँधमा काँध मिलाएर अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई कानून प्रक्रियाहरूबारे जानकारी हासिल गर्न पनि आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राउतले विगतमा सङ्घीय सरकारले कर्मचारी समायोजन तथा वित्तीय बाँडफाँडमा गरेको विभेदका कारण स्थानीय तहलाई विभिन्न समस्या झेल्नुपरेको अवगत गराउनुहुँदै अबका दिनमा सुधार गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभयो ।

मधेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले पनि धारणा राख्नुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका धनुषा र पर्सा जिल्ला बाहेकका ६ जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूको सहभागिता छ । प्रशिक्षण तीन दिन सम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button