तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी लागेसँगै खानेपानी समस्या बढ्दै

सल्यान । कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा पनि खानेपानीको हाहाकार सुरु भएको छ । २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन् ।

गाउँ नजिकैका मुहान सुकेपछि दुई घण्टा हिँडेर खोल्साखोल्सीमा जमेको पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई छ । अहिले ४ गाउँका करिब २ सय परिवार खानेपानीको अभाव भोग्न बाध्य भएको स्थानीय कमला घर्तीले बताउनुभयो । उहाँका अनुसार एक महिना अघिसम्म भक्काने मूलबाट पानी ल्याउनुपरेकोमा अहिले कोछट्टे खोलामा पुग्नुपर्ने बाध्यता रहेको छ । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्छ,’ उहाँले भन्नुभयो, ‘वर्षौँदेखि आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने अवस्था छ ।’ उहाँले खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेको बताउनुभयो ।

डाँडामा बस्ती भएकोले २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको टोटकेकी कमला ओलीले गुनासो गर्नुभयो ।

यस्तै पानीको स्रोत नजिक नहुँदा छत्रेश्वरी गाउँपालिका १ चिन्नेखर्कका बासिन्दा आधा घण्टाको बाटोमा हिँडेर पानी ल्याउन बाध्य छन् । चिन्नेखर्कका एक दर्जन परिवारको दैनिकी पानी बोक्दैमा बित्ने गरेको छ ।

बस्ती नजिक पानीको मुहान नहुँदा स्थानीयलाई पिउने पानीकै लागि दैनिक आधा घण्टा भन्दा बढी समय खर्चिनु परेको छ । खानेपानी नजिकै नहुँदा दैनिक जीवनयापनमा समेत प्रत्यक्ष असर पर्दै आइरहेको स्थानीय निरु खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button