तपाईँ सुन्दै हुनुहुन्छः

त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान

काठमाडौँ । त्रिमूर्ति निकेतनले आज सोह्रौँ त्रिमूर्ति दिवस मनायो । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभयो ।

प्रा.डा.त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवम् छन्द काव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने श्री गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गर्नुभयो ।

त्यसै गरी नेपाली नाट्यकलाको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्‍याउन अति विशिष्ट योगदान गर्नुहुने श्रीमती मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।

साथै नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान गर्नुहुने श्री शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो ।

ताम्र पत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

समारोहमा जनही पच्चीस हजार रुपियाँ राशि सहितको ‘भद्र घले पदक’ श्री तारानाथ दाहाल र प्रा.डा.उषा ठाकुरलाई प्रदान गरियो। यो पदक त्रिमूर्ति निकेतनका सदस्यलाई मात्र प्रदान गरिन्छ ।

प्रा.डा.त्रिपाठीले शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित ५८ महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्नुभयो ।

‘सत्यमोहन जोशी शताब्दी पदक’ यसअघि २२६ जना महानुभावले ग्रहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button