‘व्यावसायिक खेलको विकास गर्न प्रतियोगिता आवश्यक’
बनेपा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालमा व्यावसायिक खेलको विकासका निमित्त प्रतियोगिता आयोजना गर्न आवश्यक रहेको बताउनुभएको छ ।
काभ्रे (आइटिएफ) तेक्वान्दो सङ्घ र काभ्रे (आइटिएफ) तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा आज काभ्रेपलान्चोकको बनेपामा भएको सातौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो प्रतियोगिता कार्यक्रममा उहाँले व्यावसायिक खेलकुद प्रतियोगितालाई अगाडि बढाउन सकेको खण्डमा मात्रै नेपाली खेलाडीले खेल क्षेत्रमा नै जीवन देख्ने र आर्थिक रूपले निर्भर हुने परिस्थिति निर्माण हुने बताउनुभयो ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ राष्ट्रिय खेलकुद प्रतियोगिताको महत्त्वपूर्ण अङ्गका रुपमा रहेको जनाउँदै उहाँले त्यसको विकासका निमित्त आगामी दिनमा व्यावसायिक प्रतियोगितालाई थप हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् सहयोग गर्न तयार रहेको बताउनुभयो ।
आइटिएफले गरेको व्यावसायिक प्रतियोगिता उदाहरणीय बनेको जनाउँदै सबै खेल क्षेत्रमा रहेकाले पनि यसैगरी अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न आवश्यक तयारी गरिरहेको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्