निक्षेप सङ्कलन तथा कर्जा प्रवाहमा नेपाल बैङ्क पहिलो

काठमाडौँ । नेपाल बैङ्कले निक्षेप सङ्कलन तथा कर्जा विस्तारमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैङ्कहरूमध्ये निक्षेप सङ्कलन तथा कर्जा प्रवाह वृद्धिमा नेपाल बैङ्क पहिलो भएको बैङ्कले जनाएको छ ।
वैशाखसम्ममा बैङ्कको निक्षेप २४ दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार भने ३१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको बैङ्कले जनाएको छ । २७ वाणिज्य बैङ्कहरूमध्ये १९ वटा वाणिज्य बैङ्कहरूको निक्षेप वृद्धि भएको छ भने ८ वटा वाणिज्य बैङ्कहरूको निक्षेपमा गिरावट आएको छ । वाणिज्य बैङ्कहरूको औसत निक्षेप वृद्धिदर ६ दशमलव २३ प्रतिशत छ भने २७ वटै वाणिज्य बैङ्कहरूको कर्जामा विस्तार गरेका छन् ।
वैशाखमा वाणिज्य बैङ्कहरूसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स सङ्घको तथ्यांकअनुसार यस अवधिमा १८ वटा वाणिज्य बैङ्कहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी छ ।








प्रतिक्रिया राख्नुहोस्