तपाईँ सुन्दै हुनुहुन्छः

नवनिर्वाचित मेयर आले आफै हटाउँदै चुनावी प्रचार सामाग्री

भोजपुर । स्थानीय तह निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूलाई विजयी गराउनका लागि टाँस गरिएका प्रचार सामाग्रीहरू भोजपुरमा क्रियाशील राजनीतिक दलहरूले हटाउन सुरु गरेका छन् । 

आफ्नो प्रचार सामाग्री भोजपुर नगरपालिकाका निर्वाचित मेयर कैलाश कुमार आलेले आफ्नै नेतृत्वमा हटाउन सुरु गर्नुभएको छ । उहाँले बिहीबार बिहान सदरमुकाम र आसपासका क्षेत्रहरूमा टाँस गरिएका प्रचारका सामाग्रीहरू व्यक्तिका घरहरूबाट हटाउनु भएको हो । 

निर्वाचन सम्पन्न भएर परिणाम समेत घोषणा भएका प्रचार सामाग्रीहरू नगरको सुन्दरता समेत वितरण गर्ने भएकाले आफैबाट यसको सुरुवात गरेको निर्वाचित मेयर आलेको भनाई रहेको छ । आलेले भन्नुभयो, “निर्वाचन प्रयोजनका लागि हामी उम्मेदवारहरूका प्रचार सामाग्रीहरू टाँसिएका थिए, अव यी सामाग्रीहरू हटाउने जिम्मा हाम्रै भएकाले यसको थालनी गरिएको हो, अन्य दलका साथीहरूलाई पनि यो अभियान थाल्न अनुरोध गर्दछु ।” 

आले दोस्रो कार्यकालका लागि ५ हजार ६ सय १५ मतका साथ भोजपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उहाँले आफ्नो कार्यकालमा सफा र स्वच्छ नगर बनाउने अभियान थाल्ने पनि बताउनु भएको छ । आफूले टाँसेका प्रचारका सामाग्रीहरू अन्य दलहरूबाट पनि हटाइने ती दलहरूले जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button