तपाईँ सुन्दै हुनुहुन्छः

गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार

बनियानी। झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।

Image result for खुकुरी प्रहार

बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ ।

मेचीनगर–९ का ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने सुरज तामाङलगायत ४÷५ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको र खुकुरी प्रहारमा संलग्न मेचीनगर–९ का १७ वर्षीय सुमन सुन्दास, सोही स्थानका १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सञ्जु तामाङ, २२ वर्षीय हर्कराज राई, २० वर्षीय दिप्सन नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहार गर्ने दीपक तामाङ र सुरज तामाङ हाल फरार रहेका छन् । उनीहरुको खोजी कार्य तीव्र बनाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

नगदसहित १७ जना जुवाडे पक्राउ

झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भद्रपुर–६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६ वर्षीय कविर क्षेत्री, भद्रपुर–२ का २७ वर्षीय देवेन्द्र राजवंशी, भद्रपुर–३ का ३३ वर्षीय सागर खड्का, भद्रपुर–५ का ६५ वर्षीय बलदेव राजवंशी, २५ वर्षीय राजिप सहनी, १९ वर्षीय अनुज दास, ४१ वर्षीय गणेश सिंह, २९ वर्षीय शिव महतो, ५५ वर्षीय बुद्धनारायण महतो र भद्रपुर–४ का २८ वर्षीय रवी राजवंशी रहेको कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुबाट नेरु दुई लाख १० हजार ९१० र भारु नौ हजार ७७०, विभिन्न कम्पनीका मोबाइल १६ वटा र एक बुक तास नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button