तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी मन्त्री मगरद्वारा पुनर्वासको लोकतान्त्रिक मार्ग अनुगमन

कञ्चनपुर – खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वासमा रहेको लोकतान्त्रिक मार्गको अनुगमन गर्दै विकासको लागि आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।
लोकतान्त्रिक मार्गको निकट भविष्यमै डिपिआर तयार गरी यसलाई स्तरोन्नती र कालोपत्रे गरिने उहाँको भनाई छ । त्यस्तै, दोदा पुलसमेत साँघुरो भएकाेले यसको छेउमा अर्को पूल निर्माण गर्न आफुले पहल गरिरहेको र यसको लागि हुलाकी मार्ग आयोजना तथा भौतिक मन्त्रालयसंग कुरा भइसकेको मन्त्री मगरले जानकारी दिनुभयो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहनु भएका मन्त्री बिना मगरसंगै पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, सडक डिभिजन कार्यालयका ईञ्जिनियर अर्जुन बहादुर बम लगायतको उपस्थिति रहेको थियो ।
लोकतान्त्रिक मार्ग कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर ७,  ८ र ९ लाई प्रदेश अस्थायी राजधानी धनगढीसंग जोड्ने सबैभन्दा पायक पर्ने छोटो बाटो हो । २०६३ सालमा तत्कालीन समाजसेवी रामचन्द्र नेपालले संयोजन गरी जनश्रमदान जुटाई वर्तमान अवस्थामा ल्याउनु भएको हो ।
दोदा पूल देखि पुनर्वासको वडा नम्बर ७ सम्म करीब चार किलोमिटर लम्बाइ रहेको सो बाटो हाल साँघुरो र कच्ची अवस्थामा रहेको छ । सडक डिभिजन कार्यालयका ईञ्जिनियर अर्जुन कुमार बमले पुनर्वास नगरपालिकाले लोकतान्त्रिक मार्गको लागि डिपिआर तयार गरेको भएपनि त्यो वर्तमानमा काम नलाग्ने भएकाेले अर्को डिपिआर तयार पार्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button