मौन अवधि सुरु हुनुअघि राजनीतिक दलहरूको दौडधुप
काठमाडौँ । राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुनुअघि आज विभिन्न राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा व्यस्त हुनुभएको छ ।
सत्ता गठबन्धन पाँच दलका नेताहरू संयुक्त रुपमा आज काठमाडौँ उपत्यका लगायत देशभर चुनावी सभामा व्यस्त रहनुभयो ।
काठमाडौँ महानगरपालिकामा आयोजित चुनावी सभालाई काँग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरूले सम्बोधन गर्नुभयो ।
यसैगरी, प्रमुख प्रतिपक्षी नेकपा एमालेले झापा, काठमाडौँ लगायत देशैभरि चुनावी सभा आयोजना गर्यो ।
एमालेले काठमाडौँमा आयोजना गरेको चुनावी सभालाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्नुभयो ।
स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुने भएपछि दलहरू अन्तिम पटक देशभर मतदातासँग मत माग्न व्यस्त भएका हुन ।
दलहरूले चुनावी सभा, घरदैलो कार्यक्रम, गोष्ठी, सेमिनार, अन्तरक्रिया, सामाजिक सञ्जाल लगायतका माध्यमबाट चुनावी प्रचार गरिरहेका छन् ।
प्रमुख राजनीतिक दलहरूबिच आ–आफ्नो पक्षमा मत तान्ने प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूले आफ्नो घोषणापत्र, प्रतिबद्धता प्रत्येक घरदैलोमा पुर्याउने कार्यलाई जारी राखेका छन् ।
निर्वाचन ऐनबमोजिम मतदान हुनुभन्दा ४८ घण्टा अगाडि मौन अवधि सुरु हुन्छ ।
त्यस अवधिमा कुनै पनि दलले चुनावी प्रचार गर्न पाउँदैनन् ।
मौन अवधिमा कुनै पनि सञ्चार माध्यम र सामाजिक सञ्जाल लगायतमा समेत चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्