तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर मत बढ्ने सम्भावना

वीरगन्ज । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सा जिल्लामा मतदाता शिक्षा कार्यक्रम अझै सञ्चालन नभएका कारण बदर मतको सङ्ख्या बढ्ने सम्भावना देखिएको छ ।

चुनाव आउन १० दिन मात्र बाँकी भए पनि मतदाता शिक्षा कार्यक्रम सुरु नहुँदा नयाँ मतदाताहरूमा मतदान कसरी गर्ने भन्ने विषयमा अन्यौलता गएको छ ।

file photo

विगतमा निर्वाचन हुनु १५र२० दिन अघि टोल टोलमा पुगेर मतदाता शिक्षा कार्यक्रम हुने गरेकोमा यस पटक सो कार्यक्रम अझै सुरु नभएकाले पर्सामा बदर मतको सङ्ख्या बढ्न सक्ने देखिएको हो ।

पर्सामा महिला १ लाख ४८ हजार २ सय ८३, पुरुष १ लाख ९१ हजार ५ सय ३७ र अन्य १६ जना गरी कुल मतदाता सङ्ख्या ३ लाख ३९ हजार ८ सय ३६ रहेको छ । नयाँ मतदाताको सङ्ख्या भने ५९ हजारको हाराहारीमा छ ।

करोडौँ खर्चेर पनि विगतको निर्वाचनमा मत बदर घटाउन नसकेको भन्दै आयोगले प्रविधिमैत्री युगमा रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालबाट मतदाता शिक्षालाई प्राथमिकतामा राखेको छ ।

तर, पर्साका अधिकांश पालिकावासीहरू प्रविधिको पहुँचबाट बाहिर रहेका छन् । वीरगन्ज महानगरपालिकामा ३२ वडामध्ये १६ वटा ग्रामीण भेग नै छन् ।

राजनीतिक दलहरू पनि मतदाता शिक्षा कार्यक्रमप्रति उति गम्भीर देखिँदैनन् । निर्वाचनमा मतदातासँग मत माग्नुको साथै मतदान कसरी गर्ने शिक्षा पनि सञ्चालन गरे मत बदरको सङ्ख्यामा कमी आउनेतर्फ राजनीतिक दलहरूले पनि ध्यान नदिँदा समस्या आउने देखिएको छ ।

यता जिल्ला निर्वाचन कार्यालय पर्साकी निर्वाचन अधिकृत रञ्जिता झाले विगतमा २० दिन अघिबाट मतदाता शिक्षा अभियान सञ्चालन हुँदा निर्वाचन आउने बेलासम्ममा मतदाताहरूले मतदान गर्ने तरिका बिर्सने गरेकोले यस पटक फरक तरिका अपनाएको बताउनुभयो ।

उहाँले निर्वाचनको २ दिन अघि वैशाख २८ र २९ गते १४ वटै पालिकाको प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा कक्षा निर्माण गरी स्वयम् सेवक खटाएर मतदाताहरूले परिचयपत्र लिन आउने बेलामा मतदानसम्बन्धी शिक्षा दिने बताउनुभयो ।

यसले मतदाताहरूलाई मतदान गर्न सहज पनि हुने र मत बदरको सङ्ख्यामा पनि कमी आउने झाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button