आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री तत्काल हटाउन निर्देशन

वीरगंज । आचार संहिता विपरीत बनाइएका ठुला ठुला होर्डिङ बोर्ड तथा प्रचार सामग्रीलाई सार्वजनिक स्थलबाट तत्काल हटाउन राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन कार्यालयले निर्देशन दिएको छ ।
पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक स्थलमा दल र उम्मेदवारले राखेका आफ्ना प्रचार सामाग्री तत्काल नहटाइए सम्बन्धित दल र उम्मेदवारलाई कारबाही गरिने चेतावनी दिनुभयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले गएको चैत २५ गते देखि नै निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ । आचारसंहिता अनुसार सार्वजनिक भवन, सार्वजनिक पार्क, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न वा टाँस्न पाइने छैन ।
यस्तै कुनै पनि उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड पनि राख्न निषेध गरिएको छ ।
तर पर्सामा वीरगन्ज महानगरपालिका सहित १४ वटै पालिकाहरूमा दल र उम्मेदवारहरूले चोक, विद्युतका पोल, सार्वजनिक भवन, विद्यालय, क्याम्पस, पार्क लगायतका सार्वजनिक स्थलमा आचारसंहिता विपरीत आ–आफ्नो पोस्टर, ब्यानर, झण्डा टाँगेका छन् ।
दल र उम्मेदवारहरूले सार्वजनिक स्थलमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामाग्री राखेको मौखिक गुनासो आएको भन्दै प्रमुख निर्वाचन अधिकृत पौडेलले ती सबै सामाग्री तत्काल हटाउन निर्देशन दिइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्