तनहुँका पालिकामा उम्मेदवारी दिनेमा पुरानै अनुहारको वर्चस्व !

तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँका पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् ।
आगामी ३० वैशाखमा हुने चुनावमा जिल्लाका मुख्य दलहरूबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा पनि उम्मेदवार बनेर जितेका थिए ।
नेपाली काँग्रेसको तर्फबाट व्यास नगरपालिकाको मेयरमा पुनः वैकुण्ठ नाथ न्यौपानेको उम्मेदवारी परेको छ । उहाँ नगरपालिकाका निवर्तमान मेयर समेत हुनुहुन्छ । उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएर उहाँले पुनः मेयरमा मनोनयन दर्ता गराउनुभएको हो ।
त्यस्तै, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका पूर्ण सिंह थापाले यसअघि बन्दीपुर गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै उपाध्यक्षमा करुणा गुरुङको उम्मेदवारी परेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादीबाट उपाध्यक्षको टिकट पाउनुभएको उहाँ विजयी हुनुभएको थियो । अहिले पुनः गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
यसअघिको निर्वाचनमा ऋषिङ गाउँपालिकाको अध्यक्ष जितेका राजेन्द्र कृष्ण श्रेष्ठले पुनः यस पटक पनि सोही पदमा टिकट पाउनुभएको छ । यस्तै ऋषिङ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष गिनुमाया थापाले पनि काङ्ग्रेसबाट सोही पदका लागी पुनः टिकट पाउनुभयो । सोही पद दोहोर्याउन उहाँले उम्मेदवारी दिनुभएको छ ।
यस्तै भिमाद नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेर गत निर्वाचन जितेर उपप्रमुख बन्नुभएकी शारदा खनालले पनि पुनः सोही पदमा पार्टीबाट टिकट पाउनुभएको छ । उहाँले पनि सोही पदका लागि उम्मेदवारी दिनुभएको छ ।
यस्तै, देवघाट गाउँपालिकाका निवर्तमान अध्यक्ष दुर्गबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले यस पटक पनि सोही पदमा उम्मेदवारी दिनुभएको छ । यसअघिको निर्वाचनमा पनि उहाँहरूले सोही पदका लागि टिकट पाउनुभएको थियो ।
म्याग्दे गाउँपालिकाका निवर्तमान अध्यक्ष र उपाध्यक्ष क्रमशः माया राना र बालकृष्ण घिमिरे पनि दोहोरिने गरी सोही पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्