तपाईँ सुन्दै हुनुहुन्छः

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको माग

भक्तपुर । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका क्रममा दलहरूबाटै आचारसंहिता उल्लङ्घन भएको भन्दै यसलाई रोक्न निर्वाचनमा भाग लिएका साना दल तथा स्वतन्त्र उम्मेदवारले माग गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनबारे छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा ठुला दलले शक्ति प्रदर्शन गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोगले बेवास्ता गरेको र कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

नेपाली काँग्रेसका नेता यादवप्रसाद अधिकारीले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न जोड दिनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष वचन देउजाले उम्मेदवारी दर्ताकै दिन दलहरूबाट आचारसंहितामा उल्लङ्घन भएको भन्दै पालना गर्न–गराउन कडाइ नगरे दलहरुबीच द्वन्द्व बढ्ने र त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्ने औँल्याउनुभयो ।

बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवं उम्मेदवार रवीन्द्र ज्याख्वाले मनोनयन दर्तामा उपयुक्त व्यवस्थापन नहुँदा अन्तिम नामावली समयमै प्रकाशन नगर्दा दाबी विरोधको उजुरी गर्न नपाएको गुनासो गर्नुभयो । 

राप्रपाका प्रतिनिधि राजीव लामिछानेले विगतका निर्वाचनमा भएको त्रुटि नदोहरिन आयोग सचेत हुनुपर्ने जनाउँदै आचारसंहिता पालनामा कडाइ गर्न माग गर्नुभयो । 

सहभागी स्वतन्त्र उम्मेदवारहरूले ठुला दलले आफ्नो शक्ति प्रदर्शन गरेको, आचारसंहिता व्यापक रुपमा उल्लङ्घन गर्दा पनि आयोगले बेवास्ता गरेको आरोप लगाएका थिए । 

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले  ‘सर्भर डाउन’ हुँदा मनोनयन दर्ता र नामावली प्रकाशनमा ढिलासुस्ती भएको भन्दै दलहरूले नै आचारसंहिता बनाएकोले त्यसबारे दल नै जिम्मेवार हुनुपर्ने तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला र नगर निर्वाचन अनुगमन समितिले निर्वाचनको हरेक गतिविधिको अनुगमन गर्ने बताउँदै कानुनको पालना गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । 
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई शङ्कास्पद व्यक्ति र गतिविधिबारे समयमै जानकारी गराउन, चुनावलाई शान्तिपूर्ण बनाउन सबैको भूमिका रहने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव सञ्जीव घिमिरेले निर्वाचन कार्यालयले पत्रकारलाई निर्वाचनका सूचना दिन कन्जुस्याइँ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

स्थानीय सञ्चारकर्मीले हालको निर्वाचन प्रक्रिया मिडिया मैत्री नभएको र निर्वाचन कार्यालयले मिडियालाई सहज रुपमा सूचना उपलब्ध नगराएको गुनासो गरेका थिए । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button