तपाईँ सुन्दै हुनुहुन्छः

म्यानमारकी नेत्री आङ सान सुकीलाई थप पाँच वर्ष जेल सजाय

 याङ्गुन । म्यानमारको जुन्ता अदालतले बुधवार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ ।

यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौँसम्म जेलमा पार्न सक्ने सङ्केत देखाएको छ । 

पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको  थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधवार बिहान ९ः३० बजे फैसला र सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।

सैन्य शासनको अधीनमा रहेको म्यानमारको विशेष अदालत गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ ।

सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ । उहाँले सबै आरोपहरू अस्वीकार गर्नुभएको छ भने मानव अधिकारकर्मीहरूले पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँदै आएका छन् ।

उहाँलाई पाँच वर्षको थप जेल सजाय तोकिएपछि जेल बस्नुपर्ने कुल समय ११ वर्ष पुगेको जनाइएको छ ।

गत डिसेम्बरमा उहाँलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button