एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलद्वारा पार्टीबाट राजीनामा

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीबाट राजीनामा दिनुभएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी पोखरेलले कुनै पदमा नरहने गरी राजीनामा दिनुभएको हो ।
उहाँले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
उहाँले मनहरी, राक्सिारङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र सङ्गठन निर्माणको काममा लागेकाहरूलाई बाइपास गरेको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो ।
मकवानपुर जिल्लामा कुशल संगठकको रुपमा परिचित पोखरेलले आसन्न स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरको मेयर पदमा दाबी समेत गर्नुभएको थियो । तर, पोखरेललाई पछाडि पार्दै नेकपा (एस) मकवानपुरकी उपाध्यक्ष मीना लामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न सफल हुनुभएको थियो ।
उहाँसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डिसीले पनि पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
पोखरेल र डिसी नेकपा एमाले विभाजन पश्चात् नेकपा (एस)मा आबद्ध हुनुभएको थियो । उहाँहरू दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने समेत बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्