तातोपानीमा शारीरिक अपाङ्गता परीक्षण, ७० जना लाभान्वित

जुम्ला । तातोपानी गाउँपालिकाका ७० जना नागरिकको शारीरिक अपाङ्गता परीक्षण गरिएको छ ।
अपाङ्ग बाल मैत्री अस्पताल बनेपा र तातोपानी गाउँपालिकाको साझेदारीमा पालिकामै ७० जनाको शारीरिक अपाङ्गता परीक्षण गरिएको हो । जसमध्ये २० जना १८ वर्ष मुनिका बालबालिकाको शारीरिक परीक्षण गरिएको छ।
शारीरिक परीक्षण गरिएका ७० जना मध्ये १८ जनाको फिजिओथेरापी गर्नुपर्ने महिला तथा बालबालिका शाखा प्रमुख शान्ति भक्रि सेजुवालले बताउनुभयो ।
उहाँका अनुसार अन्य दुई जनाको शल्यक्रिया गर्नुपर्ने समस्या पत्ता लागेको छ । ११ जनालाई परामर्श दिइएको छ । २८ जनालाई रोग निको हुने औषधी वितरण गरिएको प्रमुख सेजुवालले जानकारी दिनुभयो । पालिकाले गाउँमै परिक्षण शिविर सञ्चालन गरेपछि स्थानीयलाई राहत भएको छ ।
गाउँमै अपाङ्गता परीक्षण गरी समस्या भएकालाई उपचारमा सहजीकरण गर्ने तथा सरकारबाट उपलब्ध हुने भत्ता दिनका लागि शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविरले अपाङ्गता भएका व्यक्तिको समस्या पत्ता लगाउन तथा उपचार र राहतमा सहज हुने अध्यक्ष न्यौपानेको भनाई छ ।
अपाङ्ग बालमैत्री अस्पताल बनेपासँगको सहकार्यमा तातोपानीले स्थानीय नागरिकको राहतका लागि अपाङ्गता परीक्षण शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो ।
शिविरबाट परीक्षण गरिएका ३५ जनाको क देखि घ सम्मको वर्ग छुटाउन बाँकी छ । त्यसपश्चात् वर्ग अनुसार अपाङ्गता भएका व्यक्ति कार्ड बनाइने र भत्ता उपलब्ध गराउँछौ । गाउँमै अपाङ्गता परिक्षण गराउन पाउँदा स्थानीयवासी खुसी छन् ।” उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्