कैलालीमा ६३ प्रतिशत वडाध्यक्ष र ३८ प्रतिशत पालिका प्रमुख पुनः चुनाव लड्दै
कैलाली । स्थानीय तहमा पाँच वर्षे कार्यकाल पूरा गरेका कैलालीका ६३ प्रतिशत वडाध्यक्ष पुन निर्वाचनमा होमिएका छन् । १३ मध्ये पाँच जना पालिका प्रमुख र तीन जना उपप्रमुख पनि निर्वाचनमा त्यही पदमा दोहोरिएर निर्वाचन लड्दै छन् ।
प्रमुख पदमा दोहोरिनेमा नेपाली काँग्रेसबाट धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, नेकपा एमालेबाट लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँ र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, माओवादीबाट भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी हुनुहुन्छ ।
उपप्रमुखमा दोहोरिएर चुनाव लड्नेमा गोदावरी नगरपालिकामा एकीकृत समाजवादीबाट रत्ना कडायत, चुरे गाउँपालिकामा एमालेबाट उपाध्यक्ष दिपादेवी साउँद र कैलारी गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु हुनुहुन्छ ।
कैलालीका १३ वटा पालिकाका १२६ वडा यसअघि वडाध्यक्ष भई काम गरेकामध्ये ७९ जना अर्थात् ६३ प्रतिशत वडाध्यक्ष पुन चुनाव लडेका छन् । उनीहरूलाई ती दलले पुन उम्मेदवार बनाएका छन् । टीकापुर नगरपालिकामा वडा नम्बर १ र ५ बाहेक ७ वटै वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् ।
जानकी गाउँपालिका वडा नम्बर ७ नम्बर बाहेक आठ वटै वडाध्यक्ष प्रतिस्पर्धामा छन् भने जोशीपुरमा ७ मध्ये ४ वटा वडाका वडाध्यक्ष फेरि दोहोरिन खोजेका छन् । भजनी नगरपालिकामा ६ र ९ बाहेक सात वटा वडाध्यक्ष सोही पदमा चुनाव लड्दै छन् ।
बर्दगोरिया गाउँपालिकामा ६ वडा मध्ये तीन, लम्कीचुहामा १० मध्ये ५, घोडाघोडीमा १२ मध्ये ८, गौरीगङ्गामा ११ मध्ये ७, गोदावरी नगरपालिकामा १२ मध्ये ६ वडाध्यक्ष पुनः प्रतिस्पर्धामा उत्रिएका छन् ।
कैलारी गाउँपालिकामा ९ वडामध्ये ८ वडाध्यक्ष, चुरे गाउँपालिकामा ६ वडामध्ये २ वडाध्यक्ष, मोहन्याल गाउँपालिकामा ७ मध्ये ५ वडाध्यक्ष र धनगढी उपमहानगरपालिकामा १९ मध्ये ९ वडाध्यक्ष फेरि चुनावमा उठेका छन् ।








प्रतिक्रिया राख्नुहोस्