क्यान ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टी–२० आयोजना घोषणा गरेको छ ।
नेपाल टी–२० आयोजना गर्न क्यानले दुई महिना अगाडि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टी–२० लिगको रणनीतिक र कमर्सियल साझेदारीको रुपमा रहनेछ ।
क्यानले नेपाल टी–२० आयोजना गर्न यसअघि नै सेभेन थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको सम्झौता गरेको छ । सेभेन थ्रि स्पोर्ट्ससँग सम्झौता १० वर्ष भए पनि दुई वर्ष घटाउँदै ८ वर्षमा झारेको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टी–२० को नामबाट आयोजना गर्न लागिएको हो । प्रतियोगिता सेप्टेम्बरमा गर्ने तयारी गरेको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी–२० ले क्रिकेट विकासका सँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने बताउनुभयो । खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले क्रिकेट मात्र नभएर समग्र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्