तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रदेश १ मा प्रभावकारी बन्दै

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएपछि प्रदेश न १ मा कृषि बाली तथा मत्स्य उत्पादन बढ्नुका साथै कृषकको जीवन स्तरमा सुधार आएको छ ।

परियोजना सञ्चालनमा आएपछि अनुदानका कारण कृषि यान्त्रीकरणतर्फ कृषकको आकर्षण बढ्नुका साथै धान, गहुँ, मकै, अलैँची अदुवा, दुग्ध सुपारी लगायत खाद्यान्न बालीको उत्पादनमा वृद्धि भएको पाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले आज विराटनगरमा आयोजना गरेको चालु आर्थिक वर्षको प्रगति समीक्षा गोष्ठीमा यस्तो जानकारी दिइयो ।

परियोजना कार्यान्वयन इकाई प्रमुख रामवलम प्रसाद साहले परियोजनाका कारण प्रदेश १ मा कृषि यान्त्रीकरणलाई जोड दिँदै नयाँ पोखरी विस्तार र पुराना पोखरीको मर्मत सम्भार, कृषि भण्डार केन्द्रको स्थापना, कृषि प्रशोधन केन्द्र सञ्चालन, चक्लावन्दी खेतीको विस्तार सिँचाइको सहज व्यवस्था, बङ्गुर वधशाला तथा अलैँची भट्टीको निमार्ण तथा रोजगारीको अवसर सृजना भई कृषकको जीवन स्तरमा सुधार आएको बताउनुभयो ।

२०७३–०७३ मा सुरु भएको सो परियोजना २०८३ सम्म सञ्चालन हुने छ । १० वर्ष सम्म सञ्चालन हुने सो परियोजनाले कृषि तथा माछा मासुमा आत्मनिर्भर बनाउने परियोजनाको दाबी छ ।

नेपाल सरकारले कृषि उत्पादन बढाउन परियोजना अन्तर्गत किसानलाई समूहमा ५० प्रतिशतदेखि ८५ प्रतिशतसम्म अनुदान दिइँदै आइएको छ ।

परियोजनाले तरकारी, माछा, धान लगायत १५ प्रकारका वालिलाई प्राथमिकतामा राखेर प्रदेश न १ मा जोन तथा सुपर जोन सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा प्रदेश न १ का १० वटा जिल्लाका परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रदेश न १ कृषि मन्त्रालयका सचिव मेघराज तिम्सिनाले पर्याप्त बजेट र दक्ष जनशक्तिको अभावमा कृषि क्षेत्रले सोचेजस्तो फड्को मार्न नसकेको बताउनुभयो । उहाँले युवाहरूलाई लक्षित गर्दै परियोजनाले कृषि उत्पादन वृद्धि गर्ने खालका योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले परियोजनामा ठुलो लगानी गरेकाले वित्तीय प्रगति अझ बढी हासिल हुने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा परियोजना कार्यान्वयन इकाई प्रमुख रामवलम प्रसाद साह, परियोजना व्यवस्थापन इकाई खुमलटारका वरिष्ठ कृषि प्रसार अधिकृत तीर्थराम श्रेष्ठ, प्रदेश न १ कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेल तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङका कार्यक्रम अधिकृत प्रतीक्षा श्रेष्ठले परियोजनाका कामको प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना तथा परियोजना इकाई मोरङ सामाजिक विकास विज्ञ सुन्दर झाले परियोजनाको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button