तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

दमौली। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठुला दलले सोमबार मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँका केही पालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भइसकेका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि पार्टीबाट आधिकारिक टिकट पाउन सफल भएका छन् । ती दलबाट निर्वाचित भएर पालिकाको नेतृत्व गरेका १० जना पुनः उम्मेदवार बनेका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा काङ्ग्रेसबाट वैकुण्ठ न्यौपाने पुनः उम्मेदवार बन्नुभएको छ । विसं २०७४ को निर्वाचनमा उहाँ व्यासको प्रमुखमा निर्वाचित हुनुभएको थियो । व्यासको उपप्रमुखमा निर्वाचित मीरा जोशीले भने यस पटक टिकट पाउनुभएन । व्यासको उपप्रमुखमा काँग्रेसले इन्दिरा दरैलाई उम्मेदवार बनाएको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट दुर्गबहादुर थापा पुनः उम्मेदवार बन्नुभएको छ । गत निर्वाचनमा उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

आँबुखैरेनीको अध्यक्षमा काङ्ग्रेसबाट गिरबहादुर थापा पुनः उम्मेदवार बन्नुभएको छ । गत निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले भने टिकट पाउनुभएन । आँबुखैरेनीको उपाध्यक्षमा काङ्ग्रेसबाट पवित्रा गौलीले उम्मेदवारी दर्ता गर्नुभएको छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिनुभएको छ । उहाँहरू दुवै जना गत निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

म्याग्देको अध्यक्षमा काङ्ग्रेसबाट माया राना र उपाध्यक्षमा बालकृष्ण घिमिरे दोहोरिनुभएको छ । उहाँहरूले पनि गत निर्वाचनमा जित हासिल गर्नुभएको थियो । भिमाद नगरपालिकाको उपप्रमुखमा एमालेबाट शारदा खनाल दोहोरिनुभएको छ । एमालेबाट भिमादको प्रमुखमा निर्वाचित मेखबहादुर थापाले यस पटक टिकट पाउनुभएन । भिमादको प्रमुखमा एमालेले दधिराज सुवेदीलाई उम्मेदवार बनाएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसबाट राजेन्द्रकृष्ण श्रेष्ठ र गिनुमाया थापा दोहारिनुभएको छ ।

७९५ हतियार दर्ता, ७२ मात्रै फिर्ता

स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजतप्राप्त हतियार फिर्ता गर्न आग्रह गरे पनि सर्वसाधारणले अटेर गरेको पाइएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन पछि फिर्ता गर्ने गरी हतियार प्रहरीमा बुझाउन आग्रह गरिए पनि सर्वसाधारणले बेवास्ता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका ७९५ हतियार रहे पनि हालसम्म ७२ मात्रै फिर्ता भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । प्रशासनले सूचना जारी गरी सर्वसाधारणलाई नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरेको थियो । तत्कालीन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्वीकृत लिइएका हतियारको सङ्ख्या जिल्लामा ७९५ रहेको छ । त्यसमध्ये ५६७ भरुवा बन्दुक र २२८ राइफल रहेको प्रशासनले जनाएको छ ।

हतियार सङ्ख्या धेरै रहेपनि सर्वसाधारणले फिर्ता गर्न आनाकानी गरेपछि प्रहरी प्रशासनले पुनः सूचना जारी गरेको छ । न्यून मात्रामा हतियार आएकाले सूचना नपुगेको पनि हुनसक्ने र अटेरी पनि हुनसक्ने प्रहरीको अनुमान छ । हातहतियार खरखजाना ऐन २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र रु तीन हजारदेखि ६० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । “चुनावलाई सुरक्षित र भयरहित बनाउनका लागि सबै हतियार बुझाउन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “चुनावपछि हतियार पुनः फिर्ता गरिने भएकाले जतिसक्दो छिटो नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध छ ।”

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराखिने प्रजिअ अर्यालले बताउनुभयो । “चुनावी सुरक्षा योजना बनाइसकेका छौँ, भयरहित तरिकाले नागरिकले मत हाल्ने व्यवस्था मिलाउँछौँ”, उहाँले भन्नुभयो । प्रशासन कार्यालयले निर्वाचनलाई मध्यनजर गरी मतदान केन्द्रको निरीक्षणसमेत गर्दै आएको छ । अर्यालका शुक्लागण्डकी, भिमाद, व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिका मतदानस्थलको अनुगमन गरिएको छ ।

जिल्ला सुरक्षा समिति तनहुँले यहाँका पाँच मतदानस्थलाई अति संवेदनशीलमा सूचीकृत गरेको छ । जिल्लाका १० वटै पालिकामा १३६ मतदानस्थल कायम गरिएको छ । त्यसमा २९७ मतदान केन्द्र छन् । उहाँका अनुसार भौगोलिक अवस्था र सुक्ष्म अध्ययनबाट ती मतदानस्थललाई अति संवेदनशीलमा सूचीकृत गरिएको हो । त्यस्तै ३८ मतदानस्थललाई संवेदनशील र ९३ मतदानस्थललाई सामान्यमा सूचीकृत गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button