अमरगढीको मेयरका लागी पाँच जनाको उम्मेदवारी
डडेलधुरा । डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकाको नगर प्रमुखका लागी पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखमा डिल्लीराज जोशी र उप—प्रमुखमा पार्वती देवी झुकालले मनोनयन दर्ता गराउनुभयो । काँग्रेसले अमरगढी नगरपालिकाका ११ वटै वडामा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएको छ ।

यसैगरी नेकपा एमाले र नेपाली काँग्रेस ( बिपी समाजवाद) को गठबन्धन भएको छ । काँग्रेसको बिपी समाजवादको तर्फबाट नगर प्रमुख अधिवक्ता हरिप्रसाद भट्ट र उप प्रमुखमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य यज्ञराज अबस्थीले मनोनयन दर्ता गराउनुभएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले नगर प्रमुखमा लक्ष्मण सिंह र उप प्रमुखमा शशि अबस्थीको मनोनयन दर्ता गराएको छ । नेकपा एकिकृत समाजवादीले नगर प्रमुखमा निवर्तमान उप प्रमुख सङ्गीता भण्डारी र उप प्रमुखमा भुवन पाठकको मनोनयन दर्ता गराएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा गोविन्द खडायतले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।
यसैगरी, डडेलधुराको सबैभन्दा बढी मतदाता रहेको परशुराम नगरपालिकामा पनि चार जनाको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेसको तर्फबाट काँग्रेस परशुराम नगर कमिटी सभापति भरत बढाऐर जोशी र उप प्रमुखमा निवर्तमान उप प्रमुख कलापती बोहराले मनोनयन दर्ता गराउनुभयो ।

नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा शेरसिंह माल र उप प्रमुखमा विमला बोहरा महताले मनोनयन दर्ता गराउनुभएको छ ।
नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा केशवबहादुर बोहरा र उप प्रमुखमा गौमती देवी पन्तले मनोनयन दर्ता गराउनुभयो ।
नेकपा एकिकृत समाजवादीले नगर प्रमुखमा प्रेमसिंह धामी र उप प्रमुखमा ललिता बोहराको मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्