सात किलो सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
काठमाडौँ । प्रहरीले लागुऔषध (सात किलो सेतो हेरोइन) सहित दुई विदेशीलाई पक्राउ गरेको छ ।
नेपाललाई ट्रान्जिट बनाइ लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।
वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेशवर्गबाट कतारको दोहा हुँदै काठमाडौँ आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेट जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनले सुटकेसमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो ।
उक्त लागुऔषध लिन आएका भारतका ललनुन्पुइलाई पनि पक्राउ गरिएको जनाइएको छ । दुबैलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उक्त लागूऔषधको बजार मूल्य रु १४ करोड रहेको ब्युरोले जनाएको छ ।
हुलाकमार्फत पनि लागुऔषध ओसारपसार
यसैबीच प्रहरीले हुलाकमार्फत पनि लागुऔषध ओसारपसार भएको फेला पारेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागुऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ ।
अनुसन्धानमा हुलाकमार्फत आएको क्याण्डी चकलेटमा गाँजा र चरेसको मात्रा फेला परेको र उक्त सामग्री डेलिभरी गर्ने क्रममा गुप्ताले लिएको फेला परेको जनाइएको छ ।
अनुसन्धानका क्रममा उनको घरमा बेलायतबाट पार्सल गरी आएको ५०० ट्याब्लेट फेला परेको र त्यसको परीक्षण गर्दा एम्फेटामिन रहेको पत्ता लागेको थियो ।
लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान गरी पठाएको उक्त मुद्दामा गुप्ता पुर्पक्षका लागि कारागार चलान भएका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्