तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाणद्वारा मनोनयनका बेलाको सुरक्षा प्रबन्धबारे जानकारी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका बेला हुन सक्ने अप्रत्याशित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिनुभएको छ ।

गृहमन्त्री खाणले शनिबार दिउँसो नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिनुभएको हो ।

गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश एक प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, मधेस प्रदेश प्रमुख नायब महानिरीक्षक मसुद आलम खाँ, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रमुख, नायब महानिरीक्षक दिवस लोहनी, लुम्बिनी प्रदेश प्रमुख नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ऐर र सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेलाका लागि गरिएको सुरक्षा प्रबन्धबारे जानकारी लिनुभएको हो । मधेस प्रदेशका खाँ, बागमती प्रदेशका सिंह, लुम्बिनी प्रदेशका उपाध्याय र सुदूरपश्चिम प्रदेशका आचार्यको प्रदेश प्रमुखका रूपमा शुक्रवार मात्र सरुवा भएको हो ।

यस्तै सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमलराज गिरी, मधेस प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ठाडा मगर, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक किशोर प्रधान, गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक शम्भु सुवेदी, लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्बाङ, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक अभि खत्री तथा सुदूर पश्चिम प्रदेश प्रमुख दुर्गाप्रसाद भट्टराईसँग पनि उम्मेदवारी मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे गृहमन्त्री खाणले जानकारी लिनुभएको छ।

त्यस अवसरमा सुरक्षा अधिकारीहरूले उम्मेदवारको मनोनयनका बेला हुने अप्रत्याशित घटनाबारे सतर्क र चनाखो भएर रणनीति बनाउँदै तयारी गरेको बताउनुभएको थियो ।

त्यस क्रममा गृहमन्त्री खाणले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न तथा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभएको थियो ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते छुट्टाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button