आँखा शिविर: १ हजार ५ सय जनाको आँखा परीक्षण

सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न छ वटा स्थानीय तहका १० स्थानमा सञ्चालित आँखा शिविरबाट ६५ जना मोतिया विन्दुका बिरामी शल्यक्रियाका लागि छनौट गरिएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा भएको छनौट शिविरमा एक हजार ४ सय ९४ जनाको आँखाको परीक्षण गर्दै मोतिया विन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनौट गरिएको हो ।
माप्य दूधकोशी गाउँपालिकाको काँकु र वाकुमा सञ्चालित शिविरमा ३ सय ६९ जनाको आँखा परीक्षणमा १७ जना मोतीबिन्दुका बिरामीलाई शल्यक्रियाको लागि छनौट भएका र ५३ जनालाई चस्मा र बाँकीलाई औषधि वितरण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।
थुलुङ दूधकोशी गाउँपालिकाको पञ्चन र देउसामा २ सय १४ जनाको आँखा परीक्षणमा ११ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाको लागि छनौट गरिएको छ ।

सोताङ गाउँपालिकाको पावैमा १ सय ३२ जनाको आँखा परीक्षण गर्दा आठ जना, नेचासल्यानको विभिन्न स्थानमा २ सय ५९ जनाको आँखा परीक्षण गर्दा सात जना, महाकुलुङ गाउँपालिकाको गुदेलमा १ सय ४५ जनाको आँखा परीक्षणबाट १७ जना शल्यक्रियाका लागि छनौट गरिएको हो भने १ सय ६ जनाले चस्मा सेवा लिएका छन् । सोलुदूधकुण्ड नगरपालिकाको सिसाखोलाको शिविरमा १ सय ४९ जनाको आँखा परीक्षण गर्दा आठ जना शल्यक्रियाका लागि छनौट गरिएको छ ।
निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर फप्लुमा बिहीबार र शुक्रवार तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. सिर्जना अधिकारीको टोलीले गर्ने प्रमुख बस्नेतले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्