तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह

काठमाडौँ । सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक रुपमा आग्रह गर्ने निर्णय गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको आयोजनामा आइतबार बसेको तीन महासङ्घको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक बाहेक अन्य वस्तुहरूको एलसी नखोल्ने बैङ्कहरूको गत साताको निर्णय सँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आबद्ध २० औँ हजार व्यवसायी तथा लाखौँ कालिगडको रोजीरोटी नै सङ्कटमा पर्न सक्ने तथा आम उपभोक्ताको अधिकार कुण्ठित हुन भन्दै तीन महासङ्घले त्यो अवस्था आउन नदिन आपूर्तिको अन्य विकल्प खोज्न सरकारसँग आग्रह गर्ने भएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले विदेशी मुद्राको सञ्चिती घटेको अहिलेको अवस्थामा बैङ्कहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई सुचारु राख्न वैकल्पिक व्यवस्था अलवम्वन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य वैकल्पिक व्यवस्था अवलम्बन गरी अहिलेको गर्जो टार्न सकिने उहाँको भनाई छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र आम उपभोक्ता सबैलाई सहज हुने गरी आपूर्तिको विकल्प खोजिनु पर्ने बताउनुभयो ।

यस्तै नेपाल हस्तकला व्यवसायी महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले पनि कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या आएको भन्दै त्यसको निराकरणका लागि तीनै वटा संस्था संयुक्त रुपमा लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनै वटा छाता संस्थाको तर्फबाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले बताउनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासङ्घ र नेपाल हस्तकला व्यवसायी महासङ्घ सुनचाँदीको क्षेत्रमा काम गर्ने छाता संस्था हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button