तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कृषि गणनाको तयारी पुरा

भोजपुर । सातौँ कृषि गणनाका लागि जिल्ला कृषि गणना कार्यालय भोजपुरले तयारी पुरा भएको जनाएको छ ।

वैशाख ६ गतेदेखि आगामी जेठ १९ गतेसम्म हुने कृषि गणनाका लागि भोजपुरमा ५९ जना गणक र १५ जना सुपरिवेक्षक खटाइएको जिल्ला कृषि गणना कार्यालय भोजपुरका प्रमुख सन्तोष कोइरालाले जानकारी दिनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोही अनुसार यस वर्ष देशभरमा कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक र सुपरिवेक्षकको लागि सञ्चालन भएको तालिम सम्पन्न भइसकेको छ ।

४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने प्रमुख कोइरालाको भनाई छ ।

गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिञ्चित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसे बाली, दलहन, कन्दमूल, तेल बाली, नगदे बाली, मसला बाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीको उत्पादन, बीउ विजन, विषादी र मल खादको प्रयोग लगायतको विवरण सङ्कलन हुने जनाइएको छ ।

राष्ट्रिय कृषि गणना २०७८ मा गणनाको एकाइ कृषि चलनलाई लिइएको छ । हिमाल र पहाडका जिल्लामा भए कम्तीमा ४ आना र तराईका जिल्लामा भए कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको भएमा मात्र कृषि गणना हुने जिल्ला कृषि गणना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button