तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचन : मोरङमा सुरक्षा समितिको तयारी तीव्र  

विराटनगर । वैशाख–३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लागि मोरङ जिल्लाका संवेदनशील  मतदान स्थल तथा केन्द्रहरूको जिल्ला सुरक्षा समितिले  अनुगमन गरेको छ । 

पहाडी भेगसँग तथा नेपाल भारत सीमासँग जोडिएका मोरङको  पालिकाहरूमा रहेका  संवेदनशील मतदान स्थलको समितिले अनुगमन गरेको हो । 

कतिपय मतदान स्थलहरू भौगोलिक विकटता तथा सडकको पहुँच भन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थललाई संवेदनशील देखिएको विश्लेषण गर्दै अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख एवं मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । 

अनुगमनको क्रममा  मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागि गर्न सकिने उपायका विषयमा जनप्रतिनिधि तथा  स्थानीय समुदायसँग समन्वय गर्दै सुरक्षा समितिले छलफल  सुझाव समेत लिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

 प्रमुख जिल्ला अधिकारी दाहाल सहित मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर , ३ न गण हेडक्वार्टर टंकिसिनवारीका सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने तथा राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एवं उप अनुसन्धान निर्देशक वासुदेव सिग्देल लगायतको सुरक्षा समिति सम्मिलित टोलीले मतदान स्थलको अनुगमन गरेको हो । स्थानीय तहका निर्वाचनका लागि विद्यालय तथा वडा कार्यालयहरूलाई मतदान स्थल तोकिएको छ । अनुगमनको क्रममा  केही मतदान स्थल साँघुरो रहेकाले त्यसलाई व्यवस्थित गरिने जनाइको छ । मिकलाजुङ गाउँपालिकासहित केही पालिकाको  विकट स्थानमा रहेका मतदान स्थलमा हेलिप्याडको समेत व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ । 

मोरङ जिल्लामा स्थानीय तहमा निर्वाचनका लागि ३ सय मतदान स्थल तथा ८ सय २० मतदान केन्द्र मतदानका लागि तोकिएको छ । सुरक्षा समितिका अनुसार तोकिएको मतदान स्थलमध्ये ४९ वटालाई  अति संवेदनशील १ सय ५५ वटालाई संवेदनशील तथा ९६ वटालाई सामान्य मतदान स्थलको रुपमा विश्लेषण गरिएको छ । यस पटकको निर्वाचनमा मोरङमा ७० वटा मतदान केन्द्र थप गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । 

सुरक्षा समितिले सबै पालिकाको मतदान स्थल तथा केन्द्रको  अनुगमन गरी  सोही अनुसार सुरक्षा रणनीति तयार गर्ने  जनाएको छ । अहिलेसम्म १ सयभन्दा बढी मतदान स्थलको सुरक्षा समितिले अनुगमन गरेको र अनुगमन भएका सबै  मतदान स्थल मतदाताका लागि पायक पर्ने स्थानमा रहेको बताइएको छ ।  

भौगोलिक अवस्थालाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न भएपछि सबै मतपेटिकाहरूलाई मतगणना स्थलसम्म तत्काल  सहज रूपले पुर्‍याउने गरी सुरक्षा व्यवस्था मिलाइने  समितिले जनाएको छ  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button