तपाईँ सुन्दै हुनुहुन्छः

धामी झाँक्रीबाट झारफुक गराउँदा एक महिलाको मृत्यु  

कञ्चनपुर । रूढीवादी परम्परा अनुसार धामी झाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरमा एक बिरामी महिलाको मृत्यु भएको छ । 

अस्वस्थ हुँदा उपचारका लागि राम्रो अस्पतालमा नगई केही दिनदेखि धामी झाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीया रन्चुला साउदको मृत्यु भएको हो । 

“रूढीवादी परम्परा र धामी झाँक्रीका कारण एकल महिला रन्चुला साउदले ज्यान गुमाउनु पर्‍यो । यो जघन्य अपराधको घटना हो । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही होस् र पीडित पक्षले न्याय पाओस् ।” घटनाबारे जानकारी दिँदै वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भन्नुभयो ।

भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने धामी झाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने धामी झाँक्री नारायण दत्त भट्टको नेतृत्वमा मुसेपानी स्थित स्थानीय कमला साउँदको घरमा जघन्य अपराधको घटना भएको नगर प्रमुख चन्दले बताउनुभयो । 

मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ । 

घटनाबारे अनुसन्धानका लागि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button