तपाईँ सुन्दै हुनुहुन्छः

एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले शुक्रवार छनोटअघि तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए ।

अल्मुताईरीले छनोटअघि अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए । यस्तै कुवेत र कतारी क्लबसँग समेत मैत्रीपूर्णको योजना भएको उनले जानकारी गराए । मैत्रीपूर्ण कतार वा कुवेतमा हुनेछ ।

छनोटका लागि नेपालले शुक्रवारबाट प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीले दशरथ रङ्गशालामा प्रशिक्षण सुरु गरेको हो । अल्मुताईरीले  बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

प्रशिक्षक अल्मुताईरीले एसियन कपमा छनोट हुन नेपाललाई धेरै मेहेनतको आवश्यकता रहेको बताए ।

छनोटमा नेपाल  समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button