राप्रपाले जितेका पालिकामा स्थानीय कर ५० प्रतिशत घटाउँछौँ : अध्यक्ष लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरूको नेतृत्व राप्रपाले गरेको दाबी गर्नुभएको छ ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्नुहुँदै लिङदेनले राजनीतिलाई पेसा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरू विरुद्ध राप्रपा सशक्त बन्दै गएको बताउनुभयो ।
उहाँले यस पटक स्थानीय तहको चुनावमा राप्रपाले विगतभन्दा धेरै ठाउँमा जित हासिल गर्ने बताउनुभयो ।
उहाँले चुनावी तालमेलबारे कुनै निर्णय भई नसकेको बताउनुभएको छ । “हामीलाई कसैले महत्त्वपूर्ण पदहरूमा सघाए हामी पनि सघाउन तयार छौँ ।” उहाँले भन्नुभयो, “आन्तरिक स्थानीय रूपमै समझदारी हुनसक्छ, तर अहिले कुनै निर्णय भइसकेको छैन ।”
अध्यक्ष लिङदेनले राप्रपाले जितेका पालिकाहरूमा १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गरिने बताउनुभयो । उहाँले १२ कक्षसम्म नै कम्प्युटर शिक्षा, बाल कक्षा सुधार, बाल शिक्षकहरूको कम्तीमा १५ हजार तलबको व्यवस्था गरिने बताउनुभयो ।
उहाँले स्वरोजगारका लागि विना धितो ऋण व्यवस्था गर्ने, आधारभूत स्वास्थ्य निःशुल्क गर्ने, उपचारको अभावमा कसैले ज्यान गुमाउन नपर्ने गरी पालिकाहरूको नेतृत्व गर्ने बताउनुभयो ।
राप्रपाले जितेका पालिकाहरूमा स्थानीय कर ५० प्रतिशत कर घटाउने उहाँले बताउनुभयो । “हामीले स्थानीय कर ५० प्रतिशत घटाउँछौँ । ज्येष्ठ नागरिकहरूले पाउँदै आएका सेवा सुविधा थप गरी घरदैलोमै सेवा पुर्याउँछौँ।” उहाँले भन्नुभयो ।
उहाँले भ्रष्टाचार शून्य बनाइने समेत दाबी गर्नुभयो । “सिंहदरबारको भ्रष्टाचार पनि तल्लो तहसम्म आयो” उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ ।” उहाँले अहिलेकै हाराहारीको बजेटबाट पालिकाहरूको विकास सम्भव रहेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले राप्रपा चितवनको आमसभालाई सम्बोधन गर्न चितवन आउनुभएको हो । आमसभा भरतपुरको पारस बसपार्कमा जारी छ ।








प्रतिक्रिया राख्नुहोस्