तपाईँ सुन्दै हुनुहुन्छः

अनुदानले फेरिएको कृषकको मुहार

अर्घाखाँची । शितगंगा नगरपालिका अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँचीको दक्षिणमा रहेको ६१०.४३ वर्ग कि मि मा फैलिएको ४३, ३७३ जनसङ्ख्या भएको शितगंगा नगरपालिका क्षेत्रफलको हिसाबले नेपालकै सबै भन्दा ठुलो नगरपालिका हो । यस नगरपालिकाको पूर्वमा पाल्पा, पश्चिममा प्युठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन् ।

प्रशस्त वनक्षेत्र रहेको यस पालीका पशुपालनका लागी अत्यन्तै अनुकूल वातावरण रहेको पाइन्छ । अधिकांश चुरेक्षेत्रमा फैलिएको हुनाले यहाँको हावापानी मध्यम खालको रहेको छ । यस पालीकाका बहुसङ्ख्यक बासिन्दाहरू कृषि पेशामै निर्भर रहेका छन् ।

शितगंगा नगरपालिका बाख्रा पालनका लागि पकेट क्षेत्र मानिन्छ, अधिकांश किसान बाख्रापालनलाई मुख्य आम्दानीको स्रोत मान्दै आएका छन् । यस नगरपालिकामा कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुको बजारीकरण गर्न कृषि तथा पशु विकास महिला सहकारीहरू लागिपरेका छन् ।

आर्थिक बर्ष २०७५/७६ देखी नगरपालिकाले कृषकको उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रम लागु गरेको छ । उक्त कार्यक्रम मार्फत उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तु सहकारीमार्फत बिक्री गर्ने किसानका लागी प्रोत्साहन स्वरूप खसिबोका,बङ्गुर,लोकल कुखुरा तथा महमा प्रतिकेजी रु ५० ।–दूधमा प्रति लिटर रु.५ ।– लोकल अण्डा प्रति गोटा रु.२ ।– तथा तरकारी र फलफूलमा प्रति रोपनी रु ५००० ।– का दरले अनुदान रकम प्रदान गर्दै आएको छ । न्यून अवस्था रहेका साना किसानको बाहुल्यता रहेको यस नगरमा तिनीहरूको आर्थिक अबस्थामा सुधार नभएसम्म समग्र पालीकाको विकास हुन नसक्ने ठानेर नै साना किसान मैत्री कार्यक्रम लागू गरीएको हो ।

नगरले कृषकको उत्पादन र उत्पादकत्व बढाउन कार्यपालिका बैठकबाट उत्पादनका आधारमा अनुदान वितरण कार्यविधि निर्माण गरी सो कृषकमुखी कार्यक्रम लागुगरेको हो । आ.व. २०७५/ ७६ मा ३६९ जना किसानलाई ३० लाख ४२ हजार ८ सय रकम वितरण गरिएको थियो भने, २०७६/७७ मा ५४६ जनालाई रु.५९ लाख १६ हजार ७ सय चौध र २०७७/७८ मा ७१४ जना किसानलाइ रु.८४ लाख १० हजार ८ सय एकहत्तर रकम वितरण गरिएको छ । समग्रमा यस नगरपालिकाले तीन आर्थिक वर्षमा १ हजार ६ सय १९ जना किसानलाई रु.१ करोड ७३ लाख ७० हजार ३ सय पचासी रकम वितरण गरेको हो ।

दश वटा कृषि सहकारी मार्फत खसी बोका,लोकल कुखुरा,मह,बङ्गुर र दूध जस्ता पशुजन्य उत्पादन तथा कृषि उपजको बजारीकरणका लागि नगरले प्रोत्साहन गर्दै आइरहेको छ । स्थानीय तथा बाह्य व्यापारी त्यस क्षेत्रमा कृषि जन्य बस्तु खरिदका निम्ति सम्बन्धित वडामा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ । उत्पादित वस्तु बजारीकरण गर्नका लागी कृषि सहकारीले वडामा सूचीकृत स्थानीय तथा बाह्य व्यापारीसँग सम्झौता गरी सहकारी मार्फत बजारीकरणको व्यवस्था मिलाएको छ ।
कृषकको उत्पादन र उत्पादकत्व बढाउन नगरले अनुदानका साथसाथै माउ बाख्रा,बङ्गुरका पाठापाठी,उन्नत बिउ बोका,राँगा,विभिन्न खालका फलफूलका बिउँ बिरुवासमेत वितरण गर्दै आएको छ । बजारीकरणलाई सरल बनाउन सबै वडामा कृषिउपज सङ्कलन केन्द्रको स्थापना गरिएको छ भने कृषि सहकारीको संस्थागत र नेतृत्व विकासका लागी विभिन्न उपकरण तथा तालीमहरू प्रदान गरिँदै आएको छ ।

सहकारीले किसानको उत्पादन खरिद गर्ने र सूचीकृत व्यापारीमार्फत बजारीकरण गर्दा बिचौलियाबाट किसान ठगिने प्रक्रिया बन्द भएको छ । त्यस क्षेत्रमा उत्पादित पशु तथा कृषिजन्य उत्पादन कपिलवस्तु,दाङ , रुपन्देही,चितवन तथा काठमाडौंका बजारसम्म सहकारीले बजारीकरण गर्ने गरेको शितगंगा कृषि तथा पशु विकास महिला सहकारी संस्था लि.अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो ।

यस पालीकामा खपत भई वार्षिक सात हजार भन्दा बढी खासी बोका,सोही अनुपातमा लोकल कुखुरा र दूध बाहिरी जिल्लामा निर्यात हुने गरेको छ । नगरपालिकाको अर्थतन्त्रमा कृषि र पशु क्षेत्रबाट मात्रै वार्षिक १५ करोड भन्दा बढी योगदान पुगेको छ ।
नगरपालिकामा क्रियाशील दश वटा कृषि सहकारी मार्फत उत्पादित र बजारीकरण गरिएका कृषि उपजको तथ्याङ्क मासिक तथा त्रैमासिक रुपमा कृषि तथा पशु शाखामा सङ्कलन गर्ने र सोको आधारमा वार्षिक सहकारी मार्फत प्रत्येक किसानको हातमा वितरण गर्ने गरी कार्यविधि निर्माण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण कार्यले कृषकको उत्पादन बढाउन र बिचौलियाबाट किसान ठगिने प्रक्रिया बन्द भएको छ ।

ठुला तथा पहुँचवाला व्यक्तिको हातमा मात्र अनुदान पुग्ने,साना तथा वास्तविक किसानहरू अनुदानबाट वञ्चित हुने विगतको यथार्थलाई दृष्टिगत गर्दै उत्पादनमा आधारित वास्तविक किसानलाई सहकारीको माध्यमबाट अनुदान वितरण गरिएकाले कृषकमा निकै हौसला थपिएको छ । कृषक प्रोत्साहन कार्यक्रमले प्रत्येक वर्षको उत्पादन र उत्पादकत्व बढाएको छ । उत्पादित कृषि उपज बजारीकरणको लागी सहकारीले सहयोग गर्ने र नगरबाट थप अनुदान प्राप्त हुने खालको दोहोरो सुविधाले गर्दा आफूहरू निकै उत्साहित भई उत्पादन वृद्धिमा लागिपरेको शितगंगा ६ का सफल उद्यमी करुणा ओलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button