प्रहरीको समायोजन नभए आफूहरू अध्यादेश मार्फत प्रहरी भर्ना गर्ने : मन्त्री साह

जनकपुरधाम । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्घीय सरकारले प्रहरीको समायोजन नगरेको खण्डमा अध्यादेश मार्फत भएपनि प्रदेश सरकारले प्रहरी भर्ना गर्ने बताउनुभएको छ ।
मन्त्री साहले आज जनकपुरधामको मधेस भवनमा रहेको आफ्नै निवासमा आयोजना गर्नु भएको पत्रकार भेटघाटमा वैशाख ३० गतेसम्म सङ्घीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न सङ्घीय सरकारलाई आग्रह गरेको बताउनुभयो ।
उहाँले सङ्घ सरकारले प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर प्रदेशमा प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने दाबी गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहनु भएका मन्त्री साहले मधेस सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सबै तहका सरकारका लागि सुनिश्चित होस् भन्ने अपेक्षा आफूहरूको भएको बताउनु भयो ।
उहाँले सङ्घीय सरकारले प्रहरीको समायोजनको प्रक्रिया चाँडो अगाडि बढाउने विश्वास व्यक्त गर्दै तर सङ्घीय सरकार यस प्रति इमान्दार नभएको आरोप पनि लगाउनु भयो ।
मन्त्री साहले विधेयकबाट प्रहरीको भर्ना प्रक्रियामा जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै प्रहरी भर्ना बढाउने पक्षमा प्रदेश सरकार तथा आफू भएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्