तपाईँ सुन्दै हुनुहुन्छः

अम्लेखगंजमा स्कार्पियो दुर्घटना, चालकको मृत्यु

file photo

बारा । बाराको अम्लेखगंजमा आज बिहान स्कार्पियो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

जितपुर सिमरा उपमहानगरपालिका  वडा नं.२१ आधाभार जङ्गलमा भएको दुर्घटनामा मृत्यु हुनेमा सोही उपमहानगरपालिकाको वडा नं.११ बस्ने २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । 

गम्भीर घाइते भएका चालकको उपचारका क्रममा सिमरास्थित अल्पाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्कार्पिया दुर्घटना हुँदा घाइते भएका १३ जनाको बारा र पर्साको  अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

आज बिहान पौने ९ः०० बजे सिमराबाट हेटौँडातर्फ आउँदै गरेको बा१९च ४३७७ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ । 

घाइते हुुनेहरुमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ बस्ने बर्ष २२ को उषा सेढाई, बर्ष २ को अभय सेढाई, बर्ष ४ को अंशु सेढाई, बर्ष ४० को इच्छा देवी मिजार, बर्ष ४८ को जोगी मिजार,  सोही उपमहानगरको वडा नं.७ बस्ने बर्ष २५ कि निर्मला देवी साह, बर्ष ९ को निखिल कुमार साह र निवेश कुमा साह रहेका छन् ।

त्यस्तै बिरगंज महानगरपालिका वडा नं.३२ बस्ने बर्ष ५३ का लालमुुनि देवी, बर्ष १४ का आशा साह, जिल्ला पर्सा विन्दवासिनी वडा नं.२ बस्ने बर्ष २२ को प्रेम साह र बर्ष १२ को राजु गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रहरीका अनुसार वडा नं.७ बस्ने  घाइते  एक जनाको नाम  भने खुल्न सकेको  छैन । दुर्घटनामा भएका घाइतेहरू मध्ये निर्मला ,प्रेम र राजुको अवस्था गम्भीर रहेको छ ।  

गम्भीर घाइते तीनै जनाको उपचार वीरगन्जस्थित बयोधा अस्पतालमा भइरहेको अस्पताल स्रोतले जनाएको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button