पर्साका दलित टोल र बस्तीमा घरैपिच्छे उम्मेदवार

वीरगंज । विशेष गरी पर्साको दलित समुदाय बसेका टोल र बस्तीहरूमा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा घरैपिच्छे उम्मेदवार हुने चर्चा चलिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक जना दलित उम्मेदवार हुनु पर्ने प्रावधान राखिएपछि वार्डमा विभिन्न दलहरूका घरै पिच्छे उम्मेदवार बनेका छन् ।
यसअघिका सबै निर्वाचनमा ‘भोट बैङ्क’ मात्र बन्ने गरेको पर्साका दलित बस्तीमा अहिले घरैपिच्छे उम्मेदवार बन्ने क्रमले तीव्रता पाएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १५ नगवाका दिपेन्दर रामले पहिला चुनावका बेला मात्र नेता भोट माग्न आउँथे, भोट खसालेपछि बिर्सन्थे, यसपालि दलहरू उम्मेदवार बन्नु पर्यो भन्दै आग्रह गर्न आएको बताउनुभयो ।
वीरगंज महानगरपालिका सहित पर्साका १४ पालिकामा दलित समुदायको मत तेस्रो स्थानमा रहेको छ । त्यस्तैले सबै पार्टीले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न समाजमा अलि बढी प्रभाव भएका दलित नेताहरूलाई तान्ने प्रवृत्ति बढ्दै गएको छ ।
अहिले वीरगंज महानगरपालिकामा सबभन्दा बढी नेताहरू दलित बस्ती छिर्ने गरेका छन् । वडा अध्यक्षसहित सदस्यहरूको चयन गर्न सबै पार्टीले अभियान सञ्चालन गरेका छन् । निर्वाचनमा दलित महिला सदस्य उम्मेदवार अनिवार्य गरेपछि नेताहरू अहिले दलित अगुवालाई तान्ने प्रवृत्ति बढेको छ ।
दलित अगुवा एवं नेपाल सुशासन पार्टीको तर्फबाट पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा लालबाबु रामले दलित महिला सदस्य अनिवार्य हुनुपर्ने प्रावधानले दलित समुदायमा राजनीतिक चेतना आएको बताउनु भयो ।
त्यसै गरी पोखरीया नगरपालिकाकी उपप्रमुख पदकी उम्मेदवार विन्दा देवी बैठाले दलित समुदायलाई राज्यले नेतृत्व तहमा ल्याउन खोज्नु सकारात्मक विषय भएको बताउँदै यसलाई उत्पीडित समुदायले जातीय मुक्ति तथा उत्थानको रुपमा लिनु पर्ने कुरामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्