मधेस प्रदेश सभाको आठौँ अधिवेशनबाट नाम, राजधानी सहित ४ विधेयक पारित

जनकपुरधाम । मधेस प्रदेश सभाको ८ औँ अधिवेशन गएराति १२ बजेपछि अन्त्य भए पनि आठौँ अधिवेशन निक्कै महत्त्वपूर्ण बनेको छ ।
प्रदेश सभाको ८ औँ अधिवेशन ऐतिहासिक भएको प्रदेश सभाका सदस्यहरूले दाबी गर्नु भएको छ । प्रदेश सभाको बैठकबाट प्रदेशको नाम तथा राजधानी टुङ्गो लाग्नुलाई निक्कै ठूलो उपलब्धि रुपमा प्रदेश सभाका सदस्य तथा आम जनताले लिइरहेका छन् ।
८ औँ अधिवेशन अवधिमा प्रदेश सभाको बैठक २० पटक बसेको र ४ वटा महत्त्वपूर्ण विधेयकहरू पारित गरेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिनु भयो ।
प्रदेश सभाको आठौँ अधिवेशनबाट प्रदेश जाँचबुझ सम्बन्धी विधेयक, प्रदेश सरकारी विधेयक, प्रदेश प्राविधिक विश्व विद्यालय तथा कृषि विश्व विद्यालय विधेयक २०७८ पारित गरेको सचिव यादवले जानकारी दिनुभयो ।
आठौँ अधिवेशनको मङ्गलवार बसेको प्रदेश सभाको अन्तिम बैठकबाट प्राविधिक तथा कृषि विश्व विद्यालय सम्बन्धी विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै प्रदेश सरकारलाई आफ्नै विश्व विद्यालय स्थापना गर्ने बाटो खुल्ला भएको छ । दुवै विश्व विद्यालयका लागि प्रदेश सरकारले गृहकार्य गरेको छ ।
मधेस प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय वीरगञ्जमा र कृषि विश्वविद्यालय राजविराजमा खोल्ने तयारी गरेको छ । दुवै विश्व विद्यालयको स्थापनाका लागि विधेयक पारित गरेर निक्कै ठूलो उपलब्धि हासिल गरेको सामाजिक अभियन्ता सरोज रायको रहेको छ ।
यसबाट यी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य हुनुका साथै खाडी मुलुकमा सबैभन्दा बढी सङ्ख्यामा जाने युवाहरूलाई प्राविधिक ज्ञान हासिल गर्नमा मद्दत पुग्ने भएको छ ।







प्रतिक्रिया राख्नुहोस्